१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

काठमाडौं। एशेज सिरिजको चौथो टेस्टमा इङ्ल्यान्डले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्यो। यससँगै अस्ट्रेलियामा इङ्ल्यान्डको १८ खेलको टेस्ट जितविहीन समाप्त भयो। योसँगै इङ्ल्यान्ड १५ वर्षपछि अस्ट्रेलियामा टेस्ट जित्न सफल भएको हो।
अस्ट्रेलियामा इङ्ल्यान्डको अन्तिम टेस्ट जित २०११ मा सिड्नी क्रिकेट मैदानमा भएको थियो। त्यसबेलादेखि खेलिएका १८ टेस्टमध्ये अस्ट्रेलियाले १६ जित्यो, दुई बराबरी भयो। २०१३–१४ को एशेज सिरिजमा ५–० को हारपछि इङ्ल्यान्डको जितविहीन सिलसिला सुरु भयो।
शनिबार खेलको दोस्रो दिन अस्ट्रेलियाले इङ्ल्यान्डलाई जितका लागि १७५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य इङ्ल्यान्डले ६ विकेटको क्षतिमा हासिल गर्यो।
मेलबर्न क्रिकेट मैदानमा खेलिएको अस्ट्रेलिया दोस्रो इनिङ्समा १३२ रनमा अलआउट भयो। यसअघि, अस्ट्रेलिया पहिलो इनिङ्समा १५२ रनमा अलआउट भएको थियो भने इङ्ल्यान्ड पहिलो इनिङ्समा ११० रन मात्र बनाउन सकेको थियो।
पहिलो इनिङमा अस्ट्रेलियाले ४२ रनको अग्रता लिएको थियो। तर, दोस्रो इनिङ्समा इङ्ल्यान्डले उल्लेखनीय पुनरागमन गर्दै खेल जित्यो। खेलमा सात विकेट लिएका इङ्ल्यान्डका तीव्र गतिका बलर जोश टङ्गु ‘प्लेअर अफ द म्याच’ घोषित भए।











