नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

काठमाडौं। रुकुम पश्चिमबाट नवौं एनभीए कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप खेल्न माजर अली खानसहित ३ पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन्।
नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार आयोजना हुने प्रतियोगिता ११ देखि २० पुससम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा सञ्चालन हुनेछ।
रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र कर्णाली प्रदेश भलिबल संघको समन्वयमा पुरुषतर्फको टिम प्रतियोगितामा सहभागी हुनेछ।
टिमको कप्तानी शैलेन्द्र शाहीले गर्नेछन् भने जीवन शाहीसहित पवन थापामगर, डाइमन खड्का, रोशन खड्का, विकास गिरी, पुस्कर सिंह धामी, गोपाल खनाल र मानसिंह विक टिममा रहेका छन्।
यसैगरी, विदेशी खेलाडीका रूपमा पाकिस्तानका खान, वालिद खान र अहमद खानलाई टिममा समावेश गरिएको छ। यी खेलाडी मंगलबार नेपाल आइपुगेका हुन्। प्रशिक्षकको जिम्मेवारी तेजविक्रम बुढाले सम्हाल्नेछन्। दुर्गा रेग्मी सहायक प्रशिक्षक र यमन बाँठामगर टिम व्यवस्थापक रहेका छन्।










