हालान्डको ‘सेलिब्रेसन’ नक्कल गर्दै चेर्की
-1766025268063.webp&w=3840&q=75)
काठमाडौं। एर्लिङ हालान्ड र रायन चेर्की म्यानचेस्टर सिटीका सहकर्मी हुन्। इङ्लिस लिग कपको क्वार्टरफाइनलमा ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दा सानदार गोल गरेपछि उनले उनै हालान्डको चर्चित गोल ‘सेलिब्रेसन’को नक्कल गरेका छन्।
फ्रान्सेली प्लेमेकर चेर्कीले ३२औं मिनेटमा टप कर्नरमा घुमाउरो प्रहार गर्दै सिटीलाई अग्रता दिलाए। गोलपछि उनले रोबोट स्टाइलको नृत्य गरे र त्यसपछि योग मुद्रामा खुट्टा क्रस गरेर बसे। यो हालान्डको प्रसिद्ध ‘सेलिब्रेसन’ हो।
लियोनबाट यस सिजन सिटीमा आएका चेर्की आफ्नो ट्रिक, सीप र उत्कृष्ट प्रविधिका कारण छिट्टै नै समर्थकहरूका मनपर्ने खेलाडी बनेका छन्। यसै महिना सन्दरल्यान्डविरुद्धको खेलमा उनले ‘राबोना’ क्रस निकालेका थिए, जसलाई फिल फोडेनले हेड गर्दै गोल गरेका थिए।
यद्यपि त्यसपछि प्रशिक्षक पेप ग्वार्डिओलाले चेर्कीलाई लिओनल मेसीझैं सरल तर प्रभावकारी खेल्न सुझाव दिएका थिए। ब्रेन्टफोर्डविरुद्धको गोल पनि मेसीले गर्व गर्न सक्ने खालको थियो। पेनाल्टी क्षेत्रको किनारमा आएको हेडर ‘क्लियरेन्स’ नियन्त्रणमा लिँदै उनले प्रतिद्वन्द्वीलाई झुक्याए।
बल दायाँ खुट्टामा सारेर सिधै टप कर्नरमा प्रहार गरे। ६७औं मिनेटमा साविन्होले सिटीका लागि दोस्रो गोल थपे। उनको प्रहारमा डिफ्लेक्सन लागेपछि बल ब्रेन्टफोर्डका गोलकिपर हाकोन वाल्दिमार्सनमाथि लूप हुँदै गोलमा परिणत भयो।
यस खेलमा हालान्ड सब्स्टिच्युटका रूपमा रहेपनि मैदानमा उत्रिएनन्। चेर्की दोस्रो हाफमा प्रतिस्थापित हुँदा हालान्डले उनीसँग हात मिलाउँदै प्रशंसा गरेका थिए।
यो जितसँगै सिटी २०२१ पछि पहिलो पटक लिग कपको सेमिफाइनलमा पुगेको छ। त्यही वर्ष सिटीले लगातार चौथो पटक र कुल आठौं पटक उपाधि जितेको थियो।
सेमिफाइनलमा सिटीको सामना डिफेन्डिङ च्याम्पियन न्युक्यासलसँग हुनेछ। न्युक्यासलले मंगलबार फुलह्यामलाई स्टपेज टाइममा गोल गर्दै २–१ ले हराएको थियो।
अर्को सेमिफाइनलमा चेल्सीले आर्सनल वा क्रिस्टल प्यालेसमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।






-1768572164221.png&w=3840&q=75)


