तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

काठमाडौं। बार्सिलोनाले कोपा डेल रेअन्तर्गत राउन्ड अफ ३२ मा तेस्रो डिभिजनको क्लब ग्वाडालाहारालाई २–० ले पराजित गरेको छ।
मंगलबार भएको यो खेल स्टेडियमको अस्थायी प्यारापेट (ग्रान्डस्ट्यान्ड) सम्बन्धी समस्याका कारण आधा घण्टा ढिलो सुरु भएको थियो।
ग्वाडालाहारा सहरको पेड्रो एस्कार्टिन स्टेडियममा नयाँ बनाइएको अस्थायी स्ट्यान्डमा स्थानीय प्रशासनले दर्शक प्रवेशको अनुमति नदिँदा खेल ढिला भयो। प्रहरीको हस्तक्षेपपछि मात्र दर्शकलाई भित्र जान दिइयो। नयाँ स्ट्यान्ड थपिएपछि स्टेडियमको क्षमता करिब ६ हजारबाट बढेर ८ हजार पुगेको थियो।
खेलको सुरुदेखि नै बल नियन्त्रणमा राखे पनि बार्सिलोनाले तल्लो डिभिजनको प्रतिद्वन्द्वीविरुद्ध गोल अवसर बनाउन संघर्ष गर्नुपर्यो। अन्ततः ७६औं मिनेटमा फ्रेन्की डे योङको क्रसमा एन्ड्रियास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए। उनको हेडर बल डिफेन्डरलाई लागेर जालीमा पुगेको थियो।
ग्वाडालाहाराले बराबरीको केही अवसर पाए पनि सदुपयोग गर्न सकेन। खेलको अन्तिम मिनेट (९०औं) मा मार्कस रासफोर्डले काउन्टर आक्रमणमार्फत गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले आइतबार तेस्रो स्थानमा रहेको भिल्लारियालसँगको खेललाई ध्यानमा राख्दै केही नियमित खेलाडीलाई विश्राम दिएका थिए।
२१२ दिनपछि ढाडको शल्यक्रियापछि गोलकिपर मार्क–आन्द्रे टेर स्टेगन पुनः सुरुआती एकादशमा फर्किए। १८ वर्षीय डिफेन्डर पाउ कुबार्सीले बार्सिलोनाका लागि आफ्नो १००औं खेल खेले। उनले जनवरी २०२४ मा कोपा डेल रेबाटै पहिलो टोलीमा डेब्यु गरेका थिए।
अन्य नतिजा
दोस्रो डिभिजनको डेपोर्टिभो ला कोरुन्याले शीर्ष डिभिजनको मालोर्कालाई १–० ले पराजित गर्यो। रियल सोसिडाडले स्टपेज टाइममा निर्णायक गोल गर्दै एल्डेन्सेलाई २–१ ले हरायो। भ्यालेन्सियाले स्पोर्टिङ गिहोनलाई २–० ले पराजित गर्यो।
बुधबार रियल मड्रिडले तेस्रो डिभिजनको तालाभेरासँग खेल्नेछ भने एथ्लेटिको मड्रिड चौथो डिभिजनको एथ्लेटिको बालेआरेससँग भिड्नेछ।








