१२० दिन नहुँदै किरणले बंगलादेशी क्लब छाडे

काठमाडौं। करिब डेढ वर्ष क्लबविहीन रहेर बंगलादेश प्रिमियर लिग खेल्न पुगेका नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले पुन: क्लब छाडेका छन्।
उनी यस सिजनको लिगका लागि बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका थिए। तर, क्लबमा अनुबन्ध भएको १२० दिन नपुग्दै उनले सम्झौता रद्द गर्ने घोषणा गरेका हुन्।
‘म भारी मन लिएर बिदा हुँदैछु। क्लबको निरन्तर प्रगति र सफलताको कामना गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनी गत २८ साउन २०८२ मा नेपाली राष्ट्रिय टोलीका विंगर आयुष घलानसँगै लिग खेल्न ढाका पुगेका थिए। प्रि–सिजनका केही खेल खेलेर उनी भदौमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेल्न नेपाल फर्किएका थिए।
२१ भदौमा भएको उक्त खेल गोलरहित बराबरीमा सक्किएको थियो। तर, २२ र २३ को जेनजी आन्दोलनपछि दोस्रो खेल रद्द भयो।
लगत्तै उनी लिग खेल्न बंगलादेश फर्किएका थिए। तर, बंगलादेश च्याम्पियन लिग जितेको क्लबले बंगलादेश प्रिमियर लिगमा भने राम्रो प्रदर्शन गर्न सकेन।
५ खेल खेलिसकेको क्लब १ जित र ३ बराबरी खेल्दै ५ अंकसहित छैटौं स्थानमा छ। किरणले अब अर्को यात्रा तय गर्ने बताएका छन्। तर, कुन क्लब जाने हुन् भन्ने अझै खुलाएका छैनन्।








