लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शनिबार दुई खेलसहित माहोल झनै तातिनेछ। यसले दिनभरि प्रतिस्पर्धाको ताप निरन्तर बढाइरहनेछ।
बिहान ११: १५ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। रोहितकुमार पौडेल मार्की तथा कप्तान रहेको लुम्बिनीले पहिलो खेलमै चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुआत गरेको थियो।
गत सिजनको निराशा बिर्साउने संकेत देखाइसके लुम्बिनी रोहितमा अन्त्याधिक निर्भर रहेको छ। उनले ब्याटिङमा ३९ रनको योगदान दिएका थिए।
तर, लुम्बिनीको सबैभन्दा ठूलो आश भनेको गुल्बदीन नैब नै हुन्। उनले बलिङमा ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिएका थिए। ब्याटिङमा पनि उनी उत्तिकै निर्णायक साबित रहे। २४ बल खेलेका उनले ३ चौका र ३ छक्कासहित ४४ रनको अविजित र आक्रामक इनिङ्स खेले।
हालसम्मको प्रदर्शन हेर्दा लुम्बिनी बलिङ र ब्याटिङमा सन्तुलित देखिन्छ। त्यही आत्मविश्वासले टोलीलाई फेरि एकपटक बलियो उपस्थितिको दिशामा धकेलिरहेको छ।
अर्कोतर्फ कर्णाली भने भारतीय ब्याटर प्रियांक पन्चालमा अत्याधिक निर्भर रहेको छ। रणजी ट्रफी खेल्दै आएका उनले डेब्यू खेलमै ४८ बलमा ७ चौका र ६ छक्कासहित ९० रन बनाउँदै कर्णालीलाई सानदार सुरुआत दिएका थिए। तर, मध्यक्रमका पवन सर्राफबाहेक अन्यले साथ दिन सकेनन्।
बलिङमा पनि मार्की तथा कप्तान सोमपाल कामीले आफ्नो लय समात्न सकेका छैन। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिएर २ विकेट लिएका थिए।
तर, पहिलो चरणमा जे भए पनि यस भिडन्तलाई रोचक बनाउने अर्को पृष्ठभूमि पनि छ। अघिल्लो संस्करण कर्णालीले यही लुम्बिनीलाई ५ रनले हराएको थियो।
१२८ रनजस्तो सामान्य लक्ष्यसमेत पछ्याउन नसक्दा लुम्बिनीले महत्त्वपूर्ण अंक गुमाएको थियो। अब परिस्थितिले फेरि दुई टोलीलाई आमनेसामने ल्याइदिँदा लुम्बिनीका लागि पुरानो हिसाब चुकाउने अवसर हुनेछ।











