विश्वकप छनोटमा इङ्ग्ल्यान्डको १०० प्रतिशत जित

काठमाडौं। इङ्ग्ल्यान्ड १०० प्रतिशत क्वालिफाइङ् रेकर्डसहित विश्वकपमा पुगेको छ।
आइतबार अल्बानियामाथि २–० को जितसँगै थोमस टुचेलको टोलीले आठमध्ये आठै खेल जित्दै आगामी वर्ष हुने विश्वकपका लागि अप्रत्याशित रूपमा क्लीन–सिटसहित आफ्नो स्थान पक्का गरेको हो।
समूह ‘के’ को अन्तिम खेल खेल्नुअघि नै इङ्ग्ल्यान्ड विश्वकपमा छनोट भइसकेको थियो। तर, अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै जितैसहित समूह चरण समापन गर्यो।
इङ्ग्ल्यान्डका सर्वकालीन शीर्ष स्कोरर ह्यारी केनले दुई गोल गरे। योसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ११२ खेलमा ७८ पुर्याउँदै कीर्तिमान झन् मजबुत बनाएका छन्।
‘अब हामीले स्तर बताइसक्यौं, विशेषगरी पछिल्ला खेलहरूमा,’ कप्तान केनले भने,‘हामी प्रतियोगितामा जानेबेला फेभरिटमध्ये एक हुनेछौं। यो स्वीकार गर्नैपर्छ, पछिल्ला केही प्रतियोगितामा पनि यस्तै भएको छ।’
यस सिजन बायर्न म्युनिख र इङ्ग्ल्यान्डका लागि सबै प्रतियोगितामा केनको गोल संख्या १८ खेलमा २५ पुगेको छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने २०२६ विश्वकपमा इङ्ग्ल्यान्डलाई पुर्याउने लक्ष्यसहित गत वर्ष टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो।
इङ्ग्ल्यान्डले सन् १९६६ पछि कुनै ठूलो उपाधि नजितेको अवस्थामा टुचेलले यो लामो प्रतीक्षा अन्त्य गर्ने विश्वास राखेको छ। गत दुई युरोपियन च्याम्पियनसिपमा फाइनल पुगिसकेको इङ्ग्ल्यान्ड आगामी वर्षको विश्वकपमा त्यही अनुभवको बलमा प्रवेश गर्दैछ।
‘नयाँ प्रशिक्षकसँग यो एक उत्कृष्ट वर्ष रह्यो। अब २०२६ को प्रतिक्षामा छौं,’ केनले भने।








