मेसीले गरे करिअरको ४००औं असिस्ट, ८९४औं गोल !

काठमाडौं। इन्टर मियामीले शनिबार आफ्नै मैदानमा नेस्भिललाई ४–० ले हराउँदै प्लेअफ सिरिज २–१ ले जित्यो। योसँगै मेजर लिग सकर कप (एमएलएस) पोस्ट–सिजनको अर्को चरणमा प्रवेश गर्दै एफसी सिनसिनाटीसँगको भिडन्त तय गरेको छ।
३८ वर्षीय लिओनल मेसीले खेलमा आफ्नो जादू पुनः देखाए। उनले पहिलो हाफमै दुई गोल गर्दै इन्टर मियामीलाई सहज अग्रता दिलाए। पहिलो गोल बक्स बाहिरबाट आफ्नै पहिचान बनेको सानदार फिनिशमार्फत र दोस्रो गोल पेनाल्टी क्षेत्रभित्र लो क्रसलाई फिनिश गरे। यससँगै उनको करिअरको गोल संख्या ८९४ पुगेको छ। ९०० गोलको कीर्तिमानभन्दा अब मात्र ६ गोल टाढा।
दोस्रो हाफमा जोर्डी आल्बाले तादेओ आलेन्देलाई पास दिएर तेस्रो गोल बनाउन सहयोग गरे भने अन्त्यमा आलेन्देलाई असिस्ट प्रदान गर्दै मेसीले चौथो गोलको सिर्जना गरे। त्यो असिस्ट उनको करिअरको ४००औं असिस्ट बनेको हो, जुन सक्रिय खेलाडीहरूमा दुर्लभ उपलब्धि मानिन्छ।
सन् २०२५ मा मेसीको फर्म अत्यन्त प्रभावशाली रहँदै आएको छ। ५० खेलमा ४४ गोल र २१ असिस्ट गरेका छन्। पछिल्ला ७ खेलमा मात्रै उनले १८ गोल योगदान (गोल र असिस्ट) गरेका छन्। ढिलो फर्ममा फर्किएको इन्टर मियामी अब आत्मविश्वासका साथ आगामी चरणमा सिनसिनाटीविरुद्ध मैदानमा उत्रिनेछ।






-1768572164221.png&w=3840&q=75)

