एट्लेटिकोको प्रभावशाली जित

काठमाडौं। च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडले बेल्जियम च्याम्पियन युनियन सेन्ट–जिल्लोइसलाई ३–१ ले पराजित गर्दै समूह चरणमा प्रभावशाली जित दर्ता गरेको छ।
डिएगो सिमेओनको टोलिका लागि जुलियन अल्भारेज, कोनर ग्यालाघर र मार्कोस लोरेंटेले गोल गर्दै जित सुनिश्चित गरे।
पहिलो हाफमा आक्रामक खेल्दै आएका पाहुना टोलीविरुद्ध एट्लेटिकोले ४०औं मिनेटमा अग्रता लियो। जुलियानो सिमेओनको पासबाट अर्जेन्टिनाका सहखेलाडी अल्भारेजले बक्सभित्रबाट सानदार हाफ–भली गोल गरे।
७२औं मिनेटमा एलेक्जान्डर सर्लोथको काउन्टर आक्रमणबाट आएको बल क्लियर गर्न विपक्षी डिफेन्डर असफल भए। त्यही मौकामा ग्यालाघरले बक्सभित्रबाट सट हानेर गोल गरे र अग्रता दोब्बर बनाए।
८१औं मिनेटमा रोस साइकसले सोफियान बुफलको फ्रिकिकमा हेड गर्दै एक गोल फर्काए पनि एट्लेटिकोले इन्जुरी समयमा मार्कोस लोरेंटेको गोलमार्फत जित पक्का गर्यो।
यो जितपछि एट्लेटिको ४ खेलमा ६ अंकसहित लिग चरणको अंकतालिकामा १४औं स्थानमा पुगेको छ। सेन्ट–जिल्लोइस ३ अंकसहित २६औं स्थानमा छ।








