महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

काठमाडौं। नेपाल खेलाडी संघले राष्ट्रिय महिला फुटबल टोलीलाई भोकै राखिएको भन्दै आपत्ति जनाएको छ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै संघले बागडोग्राबाट थप ६ घण्टा लामो सडक यात्रा गरी सक्किमा भारतसँग खेल्न जाँदै गर्दा अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको खानपान र आरामको उचित व्यवस्था नगरेको भन्दै गम्भीर आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ,‘महिला राष्ट्रिय टोलीका खेलाडीको यात्रासम्बन्धी खराब व्यवस्थापनबारे आएका खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। खेलाडीलाई नै सोध्दा ती समाचार साँचो भएको पुष्टि भएको छ।’
संघले खेलाडीको स्वास्थ्य र सुरक्षालाई खेलभन्दा माथि राख्नुपर्ने उल्लेख गर्दै एन्फाको व्यवस्थापनप्रति प्रश्न उठाएको छ। खेलाडी संघका अनुसार फिफाको मापदण्डअनुसार दुई खेलबीच कम्तीमा ७२ घण्टाको विश्राम अनिवार्य छ। तर, एन्फाले ४८ घण्टाभन्दा कम अन्तरमा खेलाएको असन्तुष्टि जनाइएको छ। नेपालले शुक्रबार इरानसँग खेलेको थियो। उक्त खेलमा ३–० को हार बेहोरेको थियो।
सोमबार भारतसँग २–१ को जित निकालेको नेपालले बुधबार अर्को घरेलु टोलीसँग अर्को एक अनौपचारिक मैत्रीपूर्ण खेल खेल्दैछ। यो खेल बिहीबार हुने तय थियो। तर, एक दिन अगाडि सारिएको हो।
विज्ञप्तिमा भनिएको छ,‘अपुग निन्द्रा र भोकै यात्रापछि खेलाडीलाई मैदानमा उत्र्याउनु एन्फाको गैरजिम्मेवारपनको चरम उदाहरण हो। यसअघि सिलोङमा खेल खेल्न जाँदा पनि खराब व्यवस्थापन देखिएको थियो, तर त्यसपछि पनि सुधारको कुनै प्रयास भएको देखिएन।’








