कीर्तिमानी हाकिमी
-1761446241647.webp&w=3840&q=75)
काठमाडौं। शनिबार राति मोरक्कन डिफेन्डर अक्राफ हाकिमीले उत्कृष्ट प्रदर्शन गरे।
उनका दुई गोलले पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई लिग १ को शीर्ष स्थानमा मात्र उकालेन ब्रेष्टमाथि ३–० को सानदार जित पनि दिलायो। ९ खेलबाट २० अंक पुर्याएको पीएसजी लेन्सभन्दा एक अंकले अघि छ।
मध्यसप्ताहमा च्याम्पियन्स लिगमा जर्मन क्लब बेयर लेभरकुसेनलाई ७–२ ले हराएको पीएसजीले घरेलु लिगमा पनि सोही लय कायम राख्दै बलियो जित निकालेको हो।
डिफेन्डर हाकिमीले गत सिजनको च्याम्पियन्स लिग फाइनलमा पनि गोल गरेका थिए। उनले यसपल्ट पहिलो गोल २९औं मिनेटमा गरे। भिटिन्हाको उत्कृष्ट पास समात्दै उनले दायाँ खुट्टाबाट आकर्षक भलि गोल गरे।
त्यसपछि ३९औं मिनेटम ख्विचा क्वारात्स्खेलियाको आक्रमणबाट सिर्जित अवसरमा हाकिमीले नजिकैबाट शक्तिशाली प्रहार गर्दै दोस्रो गोल थपे।
यो हाकिमीका यस सिजनका पहिलो लिग गोल हुन् र लिग १ मा उनको तेस्रो ‘ब्रेस’ (एक खेलमा दुई गोल) हो। २१औं शताब्दीमा हाकिमीभन्दा धेरै ‘डबल’ गोल गर्ने डिफेन्डर लिग १ मा छैन।
डिजाइर दोएले खेलको अतिरिक्त समयमा तेस्रो गोल गर्दै जित पक्का गरे। केही मिनेटअघि उनले पोस्टमा बल ठोकाएका थिए। यस जितसँगै पीएसजीले लगातार दुई बराबरीपछि पुनः जितको लय फिर्ता ल्याएको छ।








