अझै रोकिएन लिभरपुलको खराब लय

काठमाडौं। लिभरपुलको खराब लय अझै पनि रोकिएको छैन। प्रिमियर लिगमा उत्कृष्ट सुरुआतपछि अहिले आर्ने स्लटको टोली लगातार हारको श्रृंखलामा छ।
शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा ३–२ को हार बेहोरेको हो। जारी सिजनमा लिभरपुलको यो लगातार चौथो हार हो।
खेलको सुरुआतमै लिभरपुल दबाबमा पर्यो। पाँचौं मिनेटमा ब्रेन्टफोर्डका ड्याङ्गो उआत्ताराले टिमलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर डाम्सगार्डको लामो पास नियन्त्रणमा लिँदै केभिन शाडाले गोल गर्दै अन्तर दोब्बर गरे।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका हंगेरीयन डिफेन्डर मिलोस केरकेजले गोल फर्काए। लिभरपुलका लागि उनको यो पहिलो गोल हो।
दोस्रो हाफमा फर्कने प्रयास गरे पनि ६०औं मिनेटमा भर्जिल भान डाइकले उआत्तारालाई डी–बक्सभित्र फल गरेपछि रेफ्रीले भिएआर हेरेर पेनाल्टी दिए। उक्त मौकामा इगोर थियागोले गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ को अग्रता दिलाए।
८९औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै अन्तर घटाए पनि लिभरपुल त्यसपछि बराबरीमा फर्कन सकेन। अन्त्यमा ३–२ को हारका साथ मैदान छोड्नुपर्यो।
लिभरपुलको प्रिमियर लिगमा लगातार चौथो हार हो। पहिलो पाँच खेल लगातार जितेको टोली अहिले १५ अंकसहित छैटौं स्थानमा झरेको छ। ब्रेन्टफोर्ड भने समान खेलमा १३ अंकसहित १०औं स्थानमा पुगेको छ।
लगातारको हारपछि लिभरपुलका प्रशिक्षक आर्ने स्लटमाथि दबाब बढ्दै गएको छ। टोलीलाई फेरि जितको बाटोमा फर्काउन अब तत्काल सुधार आवश्यक देखिएको छ।






-1768572164221.png&w=3840&q=75)

