गत सिजनदेखि नै प्रीतिसम्मिलित इत्तिहाद अपराजित

काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित इत्तिहाद महिला फुटबल क्लबले शनिबार साँझ भएको खेलमा अमन एफसीलाई ३–१ ले पराजित गरेको छ। इत्तिहाद स्टेडियम–१ (पोलो) मैदानमा सम्पन्न भएको यो खेलसँगै घरेलु टोली लिगको शीर्ष स्थानमा उक्लिएको छ।
इत्तिहाद चौथो मिनेटमै गोल खाँदै पछि परेको थियो। तर, पछिल्ला दुई संस्करणको उपाधि होल्डर टिमले बलियो पुनरागमन गर्दै स्कोर पल्टाउन सफल भयो।
इत्तिहादका लागि मी स्वेलमले दुई गोल गरिन्। उनले ४०औं मिनेटमा र ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेकी हुन्।
त्यसपछि ८७औं मिनेटमा परिवर्तन खेलाडीका रूपमा मैदान प्रवेश गरेकी रोजबहन फ्रेजले तेस्रो गोल थपिन्।
यस जितसँगै इत्तिहादले १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा अग्रता लिएको छ। यसअघि टोलीले इन्डिपेन्डेन्स र निशामी फ्युचरमाथि विजय हासिल गरेको थियो भने पहिलो खेलमा अर्थोडक्ससँग बराबरी खेलेको थियो।
लगातार अपराजित यात्रा कायम राख्दै टोलीले गत सिजनदेखि अहिलेसम्म पराजयको सामना गर्नुपरेको छैन।
अब इत्तिहादले पहिलो चरणको अन्तिम (पाँचौं) खेल आगामी बिहीबार हुसैन इरबिदविरुद्ध इत्तिहाद स्टेडियम–१ (पोलो) मैदानमा खेल्नेछ।






-1768572164221.png&w=3840&q=75)

