ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार

काठमाडौं। स्पेनिस ला लिगाको एक नियमित सिजनको खेल संयुक्त राज्य अमेरिकामा खेलाउने प्रस्तावलाई रियल मड्रिडले अस्वीकार गरेको छ।
यसको विपरीत भिलारियलले बार्सिलोनासँग मियामीमा खेल्ने प्रस्ताव पारित भएमा आफ्नो खेल हेर्न टिकट लिने दर्शकलाई निःशुल्क यात्रा र टिकट प्रदान गर्ने घोषणा गरेको छ।
यो खेल ला लिगाको १७औं राउन्डअन्तर्गत हार्ड रक स्टेडियममा खेलिनेछ, जुन बार्सिलोनाका महान् खेलाडी लिओनल मेसीको क्लब इन्टर मियामीको घरेलु मैदान हो।
मंगलबार रियलले उक्त खेल अमेरिकामा हुन नदिन विभिन्न पहल थालेको जनाएको छ। क्लबले यसलाई प्रतियोगिताको इमान्दारीमा चोट पुर्याउने र परिणामहरूको वैधतामा असर पर्ने बताएको छ।
‘यो निर्णय क्लबहरूलाई पूर्व सूचना वा परामर्श बिना लिएर गरिएको हो र यसले दुई खेलको घरेलु प्रतियोगिताको मौलिक सिद्धान्तलाई उल्लंघन गर्छ, जसले प्रतिस्पर्धात्मक सन्तुलनलाई बिगार्छ,’ रियलले भनेको छ।
रियलले यस खेलका लागि फिफा, युइएफए र स्पेनको शीर्ष खेल निकायसँग अनुमति नदिन अनुरोध गरेको छ। स्पेनिस फुटबल संघले सोमबार मियामीमा खेल्न अनुमति दिएको भए तापनि युइएफए र फिफाले अनुमति दिनुपर्ने हुन्छ।
रियलले भन्यो,‘त्यस्तो कुनै पनि परिवर्तन सबै सहभागी क्लबहरूको पूर्ण र स्पष्ट सहमतिबिना हुनु हुँदैन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरूको कडाइका साथ पालना गर्नुपर्छ।’
रियल र ला लिगा अध्यक्ष जेभियर तेबासबीच धेरै विषयमा विवाद रहँदै आएको छ।






-1768572164221.png&w=3840&q=75)

