९ वर्षपछि विवाह बन्धनमा बाँधिदै रोनाल्डो र जर्जिना

काठमाडौं। पोर्चुगाली फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनका प्रेमीका जर्जिना रोड्रिग्ज औपचारिक रूपमा विवाह बन्धनमा बाँधिने भएका छन्।
३१ वर्षीया रोड्रिग्जले सोमबार इन्स्टाग्राममार्फत औपचारिक रूपमा आफ्नो इगेजमेन्टको घोषणा गरेकी हुन्। उनले आफ्नो औँलामा ठूलो औँठी लागेको फोटो पोस्ट गर्दै स्पेनी भाषामा ‘हो म सहमत छु। यो जीवनमा र मेरा सबै जीवनहरूमा पनि’ भन्ने क्याप्सन लेखेकी थिइन्।
रोड्रिग्ज र ४० वर्षीय रोनाल्डोका दुई छोरीहरू छन्। उनले रोनाल्डोका अन्य तीन सन्तानको पनि हेरचाह गर्दै आएकी छन्। यस जोडीले सन् २०२२ मा जन्मेका जुम्ल्याह सन्तानमध्ये एक छोरा गुमाएका थिए।
रोनाल्डो र रोड्रिग्जको भेट सन् २०१६ मा भएको थियो। त्यतिखेर रोड्रिग्ज मड्रिडस्थित गुच्ची स्टोरमा काम गर्थिन्।
रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रोनाल्डो हाल साउदी अरबको अल–नासर क्लबबाट खेलिरहेका छन्।








