चेल्सी पुगे हाटो

काठमाडौं। क्लब विश्वकप विजेता चेल्सीले नेदरल्यान्ड्सका युवा डिफेन्डर जोरेल हाटोलाई डच क्लब अजाक्सबाट अनुबन्ध गरेको छ।
उक्त सम्झौताको रकम करिब ३७ मिलियन पाउन्ड (लगभग ४९ मिलियन अमेरिकी डलर) रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्।
१९ वर्षीय हाटोले चेल्सीसँग सात वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। उनी यस समर ट्रान्सफर विन्डोमा चेल्सीले अनुबन्ध गरेको आठौं खेलाडी हुन्।
‘म निकै उत्साहित छु,’ चेल्सीको वेबसाइटसँग कुरा गर्दै उनले भने, ‘मैले आफ्नो भविष्यबारे धेरै सोचें र करिअरको अर्को चरणमा जान चाहन्थें। त्यसका लागि चेल्सी नै सबैभन्दा उपयुक्त क्लब हो।’
हाटो सन् २०१८ मा आफ्नै जन्मथलो क्लब स्पार्टा रोटरडामबाट अजाक्सको एकेडेमीमा प्रवेश गरेका थिए। उनले १६ वर्षको उमेरमा पहिलो व्यवसायिक सम्झौता गरेका थिए।
अजाक्सका लागि १११ खेल खेल्दा उनले चार गोल गरेका छन्। सन् २०२३ नोभेम्बरमा जिब्राल्टारविरुद्ध ६–० को जितको खेलमा उनले डच राष्ट्रिय टोलीबाट पहिलोपटक मैदान उत्रेका थिए।
उनी सेन्टर र लेफ्ट ब्याक दुवै पोजिसनमा खेल्न सक्छन्। चेल्सीले अगस्ट १७ मा क्रिस्टल प्यालेसविरुद्ध घरेलु मैदानमा खेल्दै प्रिमियर लिग सुरुआत गर्दैछ।








