साफका भुटान र भारतले यु–१७ एसियन कप छनोट खेलाउने

काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) का दुई सदस्य राष्ट्र भुटान र भारतले मात्रै एएफसी यु–१७ एसियन कप छनोटका खेल आयोजना गर्ने भएका छन्।
एसियाली फुटबल महासंघ (एएफसी)ले ३८ राष्ट्र सहभागी हुने पुष्टि भएसँगै छनोट खेल खेलाउने सात आयोजक राष्ट्र तय गरेको हो। एसिया भरिका उत्कृष्ट १६ टिम छनोट गर्न अबको केही सातामै छनोट चरण सुरु हुनेछ। एएफसी यू–१७ एसियन कप २०२५ को ‘ड्र’ ७ अगस्टमा तय गरिएको छ।
शीर्ष वरीयताको समूह ‘पट १’ बाट चीन र भियतनामले आयोजनाको अधिकार पाएका छन्। ‘पट २’ बाट भारत एक्लो आयोजक बन्दै छ। ‘पट ३’ बाट म्यानमार र किर्गिस्तानले खेल आयोजना गर्नेछन्।
त्यस्तै, ‘पट ४’ बाट जोर्डन र ‘पट ५’ बाट भुटानले छनोट खेलहरू आयोजना गर्ने जिम्मेवारी पाएका छन्। ‘पोट ६’ बाट भने कुनै पनि देशले खेल आयोजना गर्नेछैनन्। एएफसी यु–१७ एसियन कप छनोटमा यी आयोजक राष्ट्रहरू फरक–फरक समूहमा रहने अपेक्षा गरिएको छ।
३८ टोलीलाई ६ वटा पटमा विभाजन गरिएको छ। पोट १ देखि पट ५ सम्म ७–७ टिम छन् भने पट ६ मा ३ टिममात्र छन्। समूह चरणका लागि ४ वा ५ टिमका समूह बनाइनेछ। पट १ मा सन् २००८ को विजेता इरान, दुई पटकका च्याम्पियन चीन, तीन पटक सेमिफाइनल पुगेको अस्ट्रेलिया, ओमान, यमन, भियतनाम र थाइल्यान्ड छन्।
पट २ मा भारतसँगै अफगानिस्तान, मलेसिया, इराक, कुवेत, लाओस र बंगलादेश छन्। पट ३ मा सिंगापुर, बहराइन, म्यानमार, फिलिपिन्स, किर्गिस्तान, तुर्कमेनिस्तान र प्यालेस्टाइन छन्।
पट ४ मा हङकङ, आयोजक जोर्डन, कम्बोडिया, सिरिया, मंगोलिया, चिनियाँ ताइपेइ र ब्रुनाइ छन्। पट ५ मा नेपाल, भुटान, लेबनान, टिमोर लिस्टे, गुवाम, माल्दिभ्स र नर्दन मरियाना आइल्यान्ड्स रहेका छन्।
पट ६ मा मकाउ, श्रीलंका र पाकिस्तान छन्। अब ड्रपछि मात्र नेपाल कुन समूहमा पर्नेछ र कहाँ खेल्नेछ भन्ने कुरा स्पष्ट हुनेछ। छनोट चरण पार गर्ने टिमहरू एएफसी यु–१७ एसियन कपको मुख्य प्रतियोगितामा पुग्नेछन्।








