आर्सनल भित्रिए जुबिमेन्डी
सोमबार, २३ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। स्पेनिस मिडफिल्डर मार्टिन जुबिमेन्डी इङ्लिस क्लब आर्सनल भित्रिएका छन्। उनले गत वर्ष लिभरपुलको प्रस्ताव अस्वीकार गरेका थिए।
आर्सनलले २६ वर्षीय जुबिमेन्डीलाई रियल सोसिडाडबाट लगभग ६० मिलियन पाउन्ड (८२ मिलियन अमेरिकी डलर) मा भित्र्याएको हो।
जुबिमेन्डीले सोसिडाडको एकेडेमी हुँदै पहिलो टोलीमा स्थान बनाएका थिए। क्लबका लागि सबै प्रतियोगितामा २३६ खेल खेलेका छन्। उनी आर्सनलमा गत वर्ष नै आबद्ध भएका मिकेल मेरीनोसँग खेलिसकेका छन्।
स्पेनका लागि १९ खेल खेलिसकेका जुबिमेन्डीले २०२४ युरोपेली च्याम्पियनसिपको फाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।
आर्सनलले पछिल्ला तीन सिजन लगातार दोस्रो स्थानमा रहेर प्रिमियर लिग समाप्त गरेको छ।
जुबिमेन्डीले टोलीमा थमस पार्टीको स्थान लिनेछन्।








