झापाको जितले चार क्लबलाई रेलिगेसनबाट जोगायो

काठमाडौं। झापा फुटबल क्लबले सहिद स्मारक बी डिभिजन लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको श्री टुसाल क्लबलाई पराजित गरेसँगै चार क्लब आफूलाई रेलिगेसनबाट जोगिएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापाले टुसाललाई २–० ले पराजित गरेको हो। जितसँगै चौथो स्थानमा उक्लिएकझ झापाले १२ खेलबाट १८ अंक पुर्याएको छ।
समान खेलबाट टुसाल ११ अंकसहित १३औं स्थानमा छ। टुसालको हारसँगै मध्यपुर युथ एसोसिएसन, बाँसबारी क्लब, सरस्वती युथ क्लब र च्यासल युथ क्लब बी डिभिजमै रहने निश्चित भएको हो। यी सबै क्लबको समान १५ अंक छ। अरुले दुई खेल खेल्न बाँकी रहँदा सरस्वती र च्यासले समान दुई खेल खेल्न बाँकी छ।
मध्यपुरले भने आइतबार नै बाँसबारीलाई १–० ले पराजित गर्दै आफूलाई रेलिगेसनबाट जोगाएको थियो। अब आफूलाई रेलिगेसनबाट जोगाउन अन्नपूर्ण क्लब (आरसिटी), श्रीकुमारी, ब्रिगेट ब्वाइज र टुसाल प्रतिस्पर्धा गर्नेछन्।
आरसिटीको १४, श्रीकुमारीको १३ र ब्रिगेट ब्वाइजको १२ अंक छ। अन्य क्लबले समान दुई खेल खेल्न बाँकी रहँदा टुसालले भने एक खेल मात्रै खेल्नेछ।








