इतिहास बनाउने तरखरमा चेल्सी

काठमाडौं। नियमित खेलाडीहरूलाई आराम दिँदै चेल्सीले कन्फरेन्स लिगको फाइनलमा सजिलै स्थान बनाएको छ। बिहीबार राति भएको सेमिफाइनल दोस्रो लेगमा ड्युर्गार्डेनलाई १–० ले हराउँदै समग्रमा ५–१ को जित हात पार्दै चेल्सीले फाइनलमा रियल बेटिससँगको भिडन्त सुनिश्चित गरेको हो।
फाइनल मे २८ मा पोल्यान्डको व्रोक्सल सहरमा हुनेछ। रियल बेटिसले अतिरिक्त समयमा फिओरेन्टिनासँग २–२ को बराबरीमा रोक्दै समग्रमा ४–३ को जित निकालेपछि आफ्नो पहिलो युरोपेली फाइनलमा स्थान पक्का गरेको हो।
स्टामफोर्ड ब्रिजमा भएको खेलको ३८औं मिनेटमा टाइरिक जर्जको पासमा किर्नान ड्यूसबरी–हलले गरेको गोल नै चेल्सीलाई जित दिलाउन पर्याप्त बन्यो। ‘फाइनलमा पुग्नु अद्भुत अनुभूति हो। सिजन सुरु हुँदा हामीले यति टाढा पुग्ने लक्ष्य राखेका थिएनौं। अब एक खेल बाँकी छ र आशा छ, हामी उपाधि उठाउँछौं,’ हलले भने।
यदि चेल्सीले यो उपाधि जित्यो भने सबै प्रमुख युरोपेली प्रतियोगिता जित्ने पहिलो क्लब बन्नेछ। क्लबले यसअघि च्याम्पियन्स लिग (२०१२, २०२१), युरोपा लिग (२०१३, २०१९), कप विनर्स कप (१९७१, १९९८) र सुपर कप (१९९८, २०२१) जितिसकेको छ।
प्रशिक्षक एन्जो मारेस्काले ड्युर्गार्डेनविरुद्धको खेलमा अघिल्लो आइतबार लिभरपुललाई ३–१ ले हराएको टोलीबाट मार्क कुकुरेलालाई मात्र पहिलो रोजाइमा राखेका थिए।
१६ वर्षीय मिडफिल्डर रेगी वाल्शले पहिलो पटक सुरुआती खेलाडीको रूपमा खेल्दै विपक्षीबाट लगातार फाउलहरू खेपे। क्लबका अनुसार पहिलो लेगमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा उत्रँदा उनी चेल्सीको इतिहासमा तेस्रो कान्छो खेलाडी बनेका थिए।
यो प्रतियोगिता जित्ने टोलीले अर्को सिजनको युरोपा लिगमा स्थान पाउनेछ, जुन चेल्सीका लागि खासै आकर्षक इनाम होइन। चेल्सी प्रिमियर लिगमा च्याम्पियन्स लिग स्थानका लागि लडिरहेको छ। चेल्सी अहिले लिगको पाँचौं स्थानमा छ र आइतबार न्युक्यासलविरुद्ध खेल्नेछ।








