कोहलीको सानदार ब्याटिङसँगै बैंग्लुरुको सहज जित
आइतबार, ०७ बैशाख २०८२खेलपाटी संवाददाता

काठमाडौं। विराट कोहलीको सानदार ब्याटिङसँगै रोयल च्यालेन्जर्स बैंग्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो स्थानमा फर्किएको छ।
आइतबार सम्पन्न खेलमा बैंग्लुरुले पञ्जाब किंग्सलाई सात विकेटले पराजित गरेको हो। जितसँगै बैंग्लुरुले १० अंक पुर्याएको छ। पञ्जाबको पनि समान अंक छ।
पञ्जाबले दिएको १५८ रनको लक्ष्य पछ्याएको बैंग्लुरुले १८.५ ओभरमा तीन विकेट गुमाउँदै १५९ रन बनायो।
बैंग्लुरुका ओपनर कोहलीले सर्वाधिक ७३ रन बनाए। ५४ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। देवदत्त पडिक्कले ३५ बलमा पाँच चौका र चार छक्कासहित ६१ रन बनाए।
कप्तान रजत पाटीदार १२ रनमा आउट हुँदा जितेश शर्मा ११ रनमा अविजित रहे। पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चाहलको नाममा समान एक विकेट रह्यो।









