अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप

काठमाडौं। नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा अर्को साता बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ।
बागमती प्रदेश खेलकुद परिषद्ले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक रहने प्रतियोगितामा तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहनेछ।
वैशाख १३ देखि २० गते सम्म बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा हुने प्रतियोगिताको विजेताले पाँच लाख र हुने टोलीले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।
प्रतियोगिताको हरेक खेलको प्लेयर अफ द म्याच, विधागत उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ। प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, गण्डकी प्रदेश संघ, रौतह , पद्म स्पोर्टसको सहभागिता निश्चित भएको छ। एउटा टोलीको केही दिनमा टुंगो लाग्ने बताइएको छ।
दर्शकका लागि अस्थायी प्यारापिट निर्माण गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिए। पत्रकार सम्मेलनमा नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष देवनारायण चित्रकारको पनि उपस्थिति थियो।








