‘मसँग विश्वकै उत्कृष्ट टोली छ’

काठमाडौं। स्पेनिस प्रशिक्षक लुइस एनरिकले लिओनल मेसी, नेयमार र किलियन एमबाप्पेजस्ता ‘ग्यालाक्टिको’ खेलाडीलाई हटाउँदै भविष्यका सम्भावनाशील प्रतिभाहरूमाथि भरोसा राखेका छन्। उनको यो रणनीति पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा सफल हुँदै गएको देखिएको छ।
पहिले नै फ्रेन्च लिग उपाधि जितिसकेको कतारी स्वामित्वको क्लब अब च्याम्पियन्स लिग जित्ने लक्ष्यमा केन्द्रित छ। उनको टोली मंगलबार लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
पछिल्ला पाँच वर्षमा तेस्रो पटक क्वार्टरफाइनलमा पुगेको पिएसजी मंगलबार एस्टन भिल्लासँग दोस्रो लेगमा ३–२ ले पराजित भएको थियो। तर, समग्रमा ५–४ को एग्रिगेटमा जित निकाल्दै अगाडि बढ्न सफल भयो।
लगत्तै उनले आफ्नो टोलीलाई विश्वकै उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। उनले सबै खेलाडीको प्रशंसा गरे। तर, विशेष रूपमा गोलकिपर जियानलुइजी डोनारुम्मा। उनी त्यही गोलकिपर हुन्, जसले खेललाई अतिरिक्त समय जान नदिन उत्कृष्ट बचाउ गरे।
‘मसँग विश्वकै उत्कृष्ट टोली छ, गोलकिपर मात्रै होइन,’ उनले भने,‘पिएसजी जस्तो क्लबमा धेरै गुणस्तरीय खेलाडीह छन् र गिगी (डोनारुम्मा) त विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन्। यो खेलले हाम्रो टोलीलाई अझ बलियो बनाउनेछ र आगामी खेलहरूमा राम्रो प्रतिस्पर्धा गर्न मद्दत गर्नेछ।’
मंगलबारको खेलमा पिएसजी का लागि अचराफ हाकिमी र नुनो मेन्डेसले गोल गरेका थिए। मोरोक्कन डिफेन्डर हाकिमीले भने,‘हामी अहिले राम्रो आत्मविश्वासमा छौं। फेरि सेमिफाइनलमा पुगेका छौं र पिएसजी ठूलो क्लब हो भन्ने प्रमाण दिन चाहन्छौं। हामी सबै उपाधिका लागि लड्न चाहन्छौं।’
दोस्रो हाफमा एस्टन भिल्लाले दिएको दबाब र दुई मिनेटमा दुई गोल गर्दै फर्किएको अवस्थामा पनि प्रशिक्षक एनरिक निराश भएनन्।
‘यो च्याम्पियन्स लिग हो र प्रतिद्वन्द्वी टोली पनि गुणस्तरीय हुन्छन् भन्ने स्वीकार्नुपर्छ। भिल्लाले दोस्रो हाफमा उच्च गतिमा खेल्यो र दुई मिनेटमै दुई गोल गर्यो, जुनबेला खेल लगभग हाम्रो पक्षमा थियो। तर, दुई खेल मिलाएर हेर्दा हामीले जित्न योग्य प्रदर्शन गर्यौं,’ उनले भने।
अब पिएसजी सेमिफाइनलमा आर्सनल या रियल मड्रिडमध्ये एकसँग खेल्नेछ।








