लगातार सेमिफाइनलनजिक पिएसजी

काठमाडौं। ख्विचा ख्वारात्स्खेलियाले च्याम्पियन्स लिगको इतिहासमा दर्ज हुने उत्कृष्ट गोल गर्दै पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई एस्टन भिल्लाविरुद्ध ३–१ को जित दिलाए।
पार्स डेस प्रिन्स रंगशालामा बुधबार भएको क्वार्टरफाइनलको पहिलो लेगमा पिएसजी पछि रहेको अवस्थाबाट ‘कमब्याक’ गर्न सफल भएको हो। भिल्लाका मोर्गन रोजर्सले ३५औं मिनेटमा गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाउन सफल भएका थिए।
तर, पिएसजीले तुरुन्तै प्रतिक्रिया दिँदै १९ वर्षे डेजाइरे डुएको उत्कृष्ट प्रहारमार्फत बराबरी गर्यो। दोस्रो हाफ सुरु भएको चार मिनेटमै ख्वारात्स्खेलियाले बक्सभित्रबाट आकर्षक गोल गरे।
अन्तिम समयमा नुनो मेन्डेसले तेस्रो गोल थपेपछि पिएसजीले दोस्रो लेगका लागि दुई गोलको महत्त्वपूर्ण अग्रता बनायो। लिभरपुललाई अन्तिम १६ बाट बाहिर निकालेको लुइस एनरिकेको टोली दोस्रो वर्ष लगातार सेमिफाइनलनजिक पुगेको छ।
‘हामी यो नतिजाबाट खुसी छौं। तर, अझै खेल बाँकी छ। म मेरो गोल राम्रोसँग सम्झन सकिरहेको छैन। भिडियो हेरेपछि बुझ्नेछु कति राम्रो थियो,’ ख्वारात्स्खेलिया भन्छन्।
भिल्लाले सन् १९८२ मा उपाधि जितेपछि पहिलोपटक सेमिफाइनल पुग्ने आशा राखेको छ। किङ्स विलियम र उनका छोरा जर्जसमेत समर्थकको रुपमा यस खेलमा उपस्थित थिए।
भिल्लाका लुकास डिन भन्छन्,‘हामीले खेलको सुरुआतमा गोल गरेका थियौं। तर, पिएसजी एक उत्कृष्ट टिम हो। अब दोस्रो लेगमा हामीले अझै खुला खेल खेल्नुपर्नेछ।’
एनरिके र एमेरिबीचको सन् २०१७ को सम्झना पनि पुनः जागृत भएको छ। पिएसजीले बार्सिलोनालाई पहिलो लेगमा ४–० ले हराएर दोस्रो लेगमा ६–१ ले हार बेहोरेको थियो।
पिएसजीले कप्तान मार्किन्होसको अनुपस्थितिमा डुए र ख्वारात्स्खेलियालाई ओस्मान डेम्बेलेसँग ‘फ्रन्ट लाइन’मा राखेको थियो। भिल्लाले रक्षात्मक खेल खेलेको थियो। तर, ३५औं मिनेटमा कप्तान जोन म्याकगिनको पासमा योरी टिएलेम्यान्सले क्रस दिए र मोर्गन रोजर्सले सजिलै गोल गरे।
त्यसपछि पिएसजीले बल नियन्त्रणमा लिँदै पुनः आक्रमण गर्यो। डुएले गरेको सुन्दर कर्लिङ प्रहारले बराबरी गोल दिलायो। त्यसपछि ४९औं मिनेटमा ख्वारात्स्खेलियाले जर्जियन जादु देखाउँदै उत्कृष्ट गोल गरे। एमेरिले हाफटाइममा म्याटी क्यासलाई हटाएर एक्सल डिसासी ल्याए। तर, ख्वारात्स्खेलियाको गति र कौशल रोक्न सकेनन्।
अन्तिम समयमा डेम्बेलेको पासमा नुनो मेन्डेसले गोल गर्दै पिएसजीको जित सुनिश्चित गरे। अब भिल्लाले दोस्रो लेगमा ‘कमब्याक’ गर्ने प्रयास गर्नेछ।








