पहिलोपल्ट स्पेनको टोलीमा एसेन्सियो

काठमाडौं। स्पेनले नेसन्स लिग क्वार्टरफाइनलअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध खेल्न रियल मड्रिडका युवा डिफेन्डर एसेन्सियोलाई पहिलो पटक राष्ट्रिय टोलीमा बोलाएको छ।
स्पेनले मार्च २० मा नेदरल्यान्ड्सविरुद्ध रोटरड्याममा खेल्नेछ। त्यसको तीन दिनपछि दोस्रो लेग भ्यालेन्सियामा हुनेछ। स्पेन नेसन्स लिगको साबिक विजेता हो। यस पटक पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ।
२२ वर्षीय एसेन्सियो यस सिजन रियलका लागि बलियो सेन्टर ब्याकका रूपमा उभिएका छन्। उनले घाइते एडेऱ मिलिटाओको स्थान लिने अवसर पाएका थिए।
च्याम्पियन्स लिगअन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको राउन्ड अफ–१६ का दुवै लेगका खेलमा उनले पूरै ९० मिनेट खेले। त्यस खेलमा उनको टोली पेनाल्टी सुटआउटमार्फत विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो।
शुक्रबार स्पेनका प्रशिक्षक लुइस डे ला फुटन्तेले बार्सिलोनाका डिफेन्डर इनिगो मार्टिनेजलाई पुनः टोलीमा समावेश गरे। मार्टिनेजले बार्सिलोनासँग सन् २०२६ सम्मको नयाँ सम्झौता गरेका छन्, जुन सम्झौतापछि उनलाई टोलीमा बोलाइएको हो।








