नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रससँग एक वर्षको सम्झौता गरेको छ।
एन्फाले आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। नेपालले पछिल्लो पटक विश्वकप/एसियन कप छनोटको अन्तिम खेल गत वर्ष जुनमा यमनविरुद्ध खेलेको थियो।
उक्त खेल २–२ को बराबरीमा टुंगिएको थियो। त्यस खेलपछि इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण गर्न एन्फाले चासो देखाएन। त्यसयता मुख्य प्रशिक्षक पद रिक्त छ।
एन्फाले प्रशिक्षक नियुक्त गर्न नोभेम्बरमा आवेदन खुला गरेको थियो। तर, अझैसम्म कुनै निश्चित निर्णय भएको छैन। गत नोभेम्बरमै ताजिकिस्तानमा आयोजना भएको मैत्रीपूर्ण खेलमा ताजिकिस्तानविरुद्ध ४–० को हार बेहोरेको नेपालले अफगानिस्तानमाथि १३ वर्षपछि २–० को जित निकाल्न सफल भएको थियो।
उक्त खेलका लागि नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको थियो। तर, त्यसयता नेपाली राष्ट्रिय टोली कुनै औपचारिक खेलमा सहभागी नभएको पनि साढे तीन महिनापछि अस्ट्रेलियाका प्रशिक्षक रसलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो।
उनी डेढ महिनादेखि काठमाडौंमा थिए। उनले मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिकामा डेब्यु गर्नेछन्।
नेपालले मार्च २५ मा मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट २०२६ को पहिलो लेग खेल्नेछ।








