पूर्वखेलाडी इस्कोसँग हारेको रियल

काठमाडौं। रियल मड्रिड स्पेनिस ला लिगाको लिग उपाधिको होडमा पछि परेको छ।
शनिबार राति भएको खेलमा इस्को अलार्कोनको प्रभावशाली प्रदर्शनसँगै रियलमाथि रियल बेटिसले २–१ को पुनरागमन जित हासिल गरेको हो।
रियलका पूर्वखेलाडी इस्कोले ३४औं मिनेटमा जोनी कार्डोसोलाई कर्नरमार्फत असिस्ट गरे। जोनीले हेडरमार्फत गोल गर्दै ब्राहिम डियाजको सुरुआती अग्रतालाई बराबरीमा ल्याए।
त्यसपछि ५४औं मिनेटमा इस्कोले पेनाल्टीमार्फत बेटिसलाई अग्रता दिलाए। उनले जेसुस रोड्रिग्वेजलाई बल पास दिएका थिए। तर, रियलका डिफेन्डर एन्टोनियो रुडिगरले बेटिस खेलाडीलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिए।
यस हारपछि रियलले बार्सिलोनासँग अंक दूरी बढाउने अवसर गुमाएको छ। यी दुवै टोलीको २६ खेलबाट ५४ अंक छ। बार्सिलोनाले आइतबार रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दैछ।
यसैबीच एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। ६६औं मिनेटमा जोसिआल अल्भारेजको गोलमा एथलेटिक बिल्बाओविरुद्ध १–० को जित निकाल्दै एट्लेटिकोले बार्सिलोना र रियलसँग दुई अंकको अग्रता लिएको हो।
रियलका स्टार खेलाडी केलियन एमबाप्पे डेन्टल समस्याका कारण अघिल्लो खेल गुमाएका थिए। प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनको फिटनेस १०० प्रतिशत नभएको बताउँदै ७५औं मिनेटमा मैदानबाट हटाए।
‘हामीले खेल नियन्त्रण गर्न सकेनौं र परिणाम हाम्रो हातबाट गयो,’ एन्सेलोट्टीले भने, ‘यो ठूलो झट्का हो, हामीले प्रतिक्रिया दिनैपर्छ। आज हामी राम्रो खेल्न सकेनौं।’
रियलले पछिल्ला पाँच लिग खेलमध्ये मात्र एक जित निकालेको छ, जसमा स्पान्योलविरुद्ध अप्रत्याशित हार समावेश छ। अब रियलले मंगलबार एट्लेटिकोसँग च्याम्पियन्स लिगको राउन्ड अफ १६ खेल्नेछ।
तीन वर्षअघि रियल छाडेका इस्कोले क्लबमा रहँदा पाँच च्याम्पियन्स लिग उपाधि जितेका थिए। तर, अन्त्यतिर उनको खेल समय घट्दै गयो। शनिबारको खेलमा भने उनी सबैभन्दा प्रभावशाली खेलाडी रहे।
‘रियलसँग उत्कृष्ट खेलाडीहरू छन्, जसले विभिन्न तरिकाले क्षति पुर्याउन सक्छन्। तर, टिमको मिहिनेतबिना आजको जित सम्भव हुने थिएन,’ इस्कोले भने।
इस्को पछिल्लो समरमा घुँडाको चोटका कारण स्पेनको युरोपियन च्याम्पियनसिप टोलीबाट बाहिरिएका थिए। तर, डिसेम्बरमा पुनरागमन गरेपछि उनले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।
‘राष्ट्रिय टोलीका लागि खेल्नु कुनै पनि खेलाडीको सपना हुन्छ, उनले भने, ‘छ–सात वर्षदेखि म स्पेनका लागि खेलेको छैन, तर म अवसर पाउने आशा राख्छु।’








