नेपाललाई सावित्राले दिलाइन् अग्रता

काठमाडौं। नेपालले इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले लेबनानविरुद्ध १-० को अग्रता लिएको हो। नेपाललाई सावित्रा भण्डारी सम्बाले सुरुआती अग्रता दिलाएकी हुन्।
चार खेलाडी परिवर्तन गर्नै मैदान उत्रिएको लेबनानले आक्रामक सुरुआत परेको थियो। खेलको नवौं मिनेटमै लेबनानकी लयला इस्कान्दारको पासमा क्रिस्टी मालोएसले प्रहार गरेको बललाई अञ्जिलाले सुन्दर बचाउ गरेकी थिइन्।
त्यसपछि पनि लेबनानले आफ्नो आक्रामण जारी राख्यो। त्यसको तीन मिनेटपछि नै लायलाले गोलकिपर अञ्जिलालाई बिट गर्दै प्रहार गरेको बल पोस्टनजिकबाट बाहिरिएको थियो।
खेलको सुरुआती १५ मिनेट नेपाली डिफेन्डर व्यस्त रहे। तर, त्यसपछि भने नेपालले पनि आक्रामण बुन्यो।
१७औं मिनेटमा रेखा पौडेलले सुन्दर अवसर गुमाइन्। सबिता रानामगरको क्रसलाई हेडर गर्ने प्रयास गरेपनि सफल हुन सकिनन्। २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइडबाट बाहिरियो।
२६औं मिनेटमा विमला चौधरीको हेडर फितलो रह्यो। उनले यसअघि किर्गिस्तानविरुद्ध निर्णायक गोल गरेकी थिइन्। लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन्। त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन।
३१औं मिनेटमा लेबनानकी लायलाले अर्को अवसर बुनेकी थिइन्। तर, पेनाल्टी बक्समा अगाडी बढ्दै अञ्जिलाले सुन्दर बचाइ गर्दिइन्। नेपाललाई अग्रता लिन भने ४२औं मिनेटसम्म कुर्नुपरेको थियो।
साम्बाले पेनाल्टी बक्सभन्दा बाहिरबाट प्रहार गरेको बल लेबनानी डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत हुन पुग्यो।








