नासरको प्रभावशाली जित

काठमाडौं। घरेलु मैदानमा भएको खेलमा अल–नासरले अल–फेहामाथि ३–० को प्रभावशाली जित हात पारेको छ।
योसँगै अल–नासरले १९ खेलबाट ४१ अंक पुर्याएको छ। तर, अल–नासर शीर्ष स्थानको अल– इत्तिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा पाँच अंकले पछि छ।
खेलमा नयाँ खेलाडी जोन डुरानले दुई र कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे। खेलको सुरुआतदेखि नै अल–नासरले दबाब सिर्जना गर्यो। डुरानले १८औं मिनेटमा बक्सबाहिरबाट गरेको प्रहार अल–फेहाका गोलरक्षकले बचाए।
२२औं मिनेटमा डुरानले बक्सको बीचमा स्थान पाएका थिए। उनले आफ्नो बायाँ खुट्टाबाट गरेको सुन्दर प्रहारले गोलमा परिणत भयो।
अल–फेहाले खेलमा फर्कने प्रयास गरे पनि प्रभावकारी देखिएन। रोनाल्डो पहिलो हाफभर सक्रिय देखिए। ३१औं मिनेटमा साडियो मानेको पासबाट उनले प्रहार गरेको बल पोस्ट बाहिर गयो। पहिलो हाफमा अल–नासरले १–० को अग्रता कायम राख्यो।
दोस्रो हाफमा पनि अल–नासरकै नियन्त्रणमा रह्यो। अल–फेहाको डिफेन्स निरन्तर दबाबमा थियो। ७२औं मिनेटमा मानेको उत्कृष्ट क्रसलाई डुरानले नजिकैबाट गोल गर्दै अल–नासरको अग्रता दोब्बर बनाए।
दोस्रो गोल भएको दुई मिनेटपछि नै रोनाल्डोले अग्रता ३–० मा पुर्याए। उनले काउन्टर अट्याकमा उत्कृष्ट गोल गरे। यसअघि ७०औं मिनेटमा रोनाल्डोले हेडरमार्फत गोलको मौका गुमाएका थिए। तर, अन्ततः उनले गोल गर्दै आफ्नो छाप छोड्न सफल भए








