संकटालाई पराजित गर्दै थन्डरबोल्ड क्वार्टरफाइनलमा

काठमाडौं। सुरुआती अग्रता जोगाउन नसक्दा दुईपल्टको च्याम्पियन संकटा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ
पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतको थन्डरबोल्ड नर्थ युनाइटेडले संकटालाई ३–१ ले पराजत गरेको हो। थन्डरबोल्टले सुरुमा गोल खाए पनि उत्कृष्ट पुनरागम गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग भेट पक्का गर्यो। ब्ल्याक बुल्स शुक्रबार नै नेपाल आइपुगेको छ।
मनिषले पौडेलले खेलको ११औं मिनेटमै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। पासाङ लामाको पास सदुपयोग गर्दै उनले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट फिनिस गरेका हुन्। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा केही दिनअघि मात्रै सम्पन्न सभापति कप जितेर पोखरा उक्लिएको संकटाले उक्त अग्रता जोगाउन सकेन।
३४औं मिनेटमा फ्रान्कलिन टालाले पेनाल्टीमार्फत गोल गर्दै थन्डरबोल्डलाई खेलमा फर्काए। पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा संकटाले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
७७औं मिनेटमा करण राईले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए। उनले आन्द्रेको क्रसमा गोल गरेका हुन्। निर्धारित खेल सकिन ६ मिनेट बाँकी हुँदा आदर्श तामाङले गोल गर्दै थन्डरबोल्डलाई ३–१ को जित दिलाए। उनले मैदानको सेन्टरभागबाट गोल गरेका हुन्।








