आर्मीलाई पराजित गर्दै गण्डकी टाइगर कपको उपाधिनजिक

पोखरा। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा शनिबार भएको दोस्रो क्वालिफायरमा आर्मी ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो। पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो। तर, तेस्रो र चौथोमा पुनः उत्कृष्ट प्रदर्शन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो।
गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो। अब गण्डकीले उपाधिका लागि आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ। तेस्रो बनेको आर्मीले एक लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछ।
यसअघि शनिबार नै भएको महिलातर्फको दोस्रो क्वालिफायरमा न्यु डायमन्ड स्पोर्ट्सलाई ३–१ को सेटले पराजित गर्दै आयोजक टोली फाइलनमा पुगेको थियो। आयोजक टोलीले अब उपाधिका भोलि सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग खेल्नेछ।








