फेरि रोनाल्डोको पेनाल्टी गोल !

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले सिजनको ११औं गोल गर्दै अल–ओखडुदविरुद्ध अल–नासरलाई जित दिलाएका छन्।
एक महिनाको विश्रामपछि साउदी प्रो लिग फेरि सुरु भएको थियो। बिहीबार सम्पन्न खेलमा नासरले अल–ओखडुदलाई ३–१ ले पराजित गर्न सफल भयो।
सावियर गोडविनले गोल गर्दै ओखडुदलाई सुरुआती अग्रता दिलाएका थिए। तर, लिभरपुलका पूर्वस्टार साडियो मानेले २९औं मिनेटमा बराबरी गोल गरे।
नासरमा दुई वर्षअघि अनुबन्धित रोनाल्डोले पहिलो हाफको अन्त्य अघि पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए।
३९ वर्षीय पोर्चुगलका स्टार रोनाल्डो गत सिजनको शीर्ष स्कोरर थिए र हालको तालिकामा उनी अल–हिलालका अलेक्जान्डर मिट्रोभिकभन्दा एक गोलले पछाडि छन्।
मानेले ८८औं मिनेटमा आफ्नो दोस्रो गोल थप्दै नासरलाई तेस्रो स्थानमा उकास्न मद्दत गरे। १४ खेलबाट २८ अंक जोडेको नासर शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा आठ र दोस्रो स्थानको अल–हिलालभन्दा ६ अंकले पछि छ।








