साफ उमेरसमूहका प्रतियोगिताको क्यालेन्डर परिमार्जन
बुधबार, ०३ पौष २०८१खेलपाटी संवाददाता

काठमाडौं। साफ प्रतियोगिता समितिले २०२५ मा हुने उमेरसमूहका प्रतियोगिताको क्यालेन्डर परिमार्जन गरेको छ। मंगलबार बसेको साफ प्रतियोगिता समितिको भर्चुअल आपतकालीन बैठकले क्यालेन्डर परिमार्जन गरेको हो।
समितिको निर्णयअनुसार साफ यु–१९ पुरुष च्याम्पियनसिप २०२५ भारतमा आगामी मे ८ देखि १८ सम्म आयोजना हुनेछ। यसैगरी साफ यु–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा जुलाई १ देखि ११ सम्म हुने तालिका तय गरिएको छ।
त्यसैगरी साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ सेप्टेम्बर १४ देखि २४ र साफ यु–१७ पुरुष च्याम्पियनसिप २०२५ अक्टोबर १७ देखि २७ सम्म आयोजना हुनेछन्।
साफका प्रतियोगिताहरू एएफसी उमेरसमूहका प्रतियोगिताको तयारीका लागि हुने गरेका छन्। त्यसैले उक्त समय मिलाउन साफका प्रतियोगिताका मिति परिमार्जन गरिएको जनाइएको छ।








