सुदूरपश्चिम र जनकपुरसँगै चितवन पनि प्लेअफमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले आइतबार पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गरेसँगै प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लागेको छ।
एक खेल खेल्न बाँकी सुदूरपश्चिम १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएको जनकपुर बोल्ड्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। यता, सात खेलबाट आठ अंक जोडेको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरेको छ। सुदूरपश्चिमले अब लिगचरणको अन्तिम खेल आठ अंक जोडेको कर्णाली याक्ससँग सोमबार खेल्ने छ। यही खेलबाट प्लेअफ पुग्ने चौथो टोलीको पनि टुंगो लाग्ने छ।
कर्णाली ठूलो अन्तरले पराजित भए समान आठ अंक जोडेको काठमाडौं गुर्खाज प्लेअफमा पुग्नेछ। प्रतिस्पर्धात्मक हार बेहोरे कर्णालीले प्लेअफमा स्थान पक्का गर्नेछ। सुदूरपश्चिम र कर्णालीबीचको खेलले शीर्षदेखि चौथो स्थान हात पार्ने टोलीको स्थान पनि पक्का हुनेछ। शीर्ष चारमा रहेका टोलीमध्ये शीर्ष दुईले क्वालिफायर १ खेल्नेछन्। बाँकी दुई टोलीले भने इलिमिनेटर खेल्ने खेल्ने छ।
अहिलेको अवस्थामा सुदूरपश्चिमले क्वालिफायर १ खेल्ने निश्चितजस्तो भइसकेको छ। तेस्रो स्थानमा रहेको चितवनले भने इलिमिनेटर खेल्ने छ। क्वालिफायर १ जित्ने टोलीले फाइनल पुग्नेछ भने हार्ने टोलीलाई क्वालिफायर २ खेल्ने मौका हुनेछ। इलिमिनेटर जित्ने टोली क्वालिफायर २ मा पुग्नेछ। हार्ने टोली बाहिरिनेछ।









