चितवनलाई जीवनदान दिएको जाफर महंगो

काठमाडौं। पाकिस्तानका तीव्र गतिका बलर सोहेल तनवीरले दिएको जीवनदान महंगो पर्दा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सबाट १६८ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो। पहिलो पावर प्ले मै (१.३ ओभरमा २–१) दुई विकेट लिँदै चितवनले लुम्बिनीलाई दबाबमा राखेपनि तनवीरले दिएको जीवनदान महंगो बन्न पुग्यो। १०औं ओभरको अन्तिम बलमा उनले सट फाइन लेगमा जाफरलाई पाँच रनमा जीवनदान दिएका थिए। कुशलको बललाई उनले स्वीप गरेका थिए। तर, तनवीरले सहज क्याच छाडे।
सोहीको फाइदा उठाउँदै जाफरले कप्तान रोहितकुमार पौडेलसँग पाँचौं विकेटका लागि ११४ रनको शतकीय साझेदारी गरे। एनपिएलमा यो चौथो शतकीय साझेदारी हो। रोहितले सर्वाधिक ८० रन बनाए। ५७ बल खेलेका उनले ६ चौका र पाँच छक्का प्रहार गरे। एनपिएलमा उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको इनिङ्स खेलेका थिए।
जाफर भने ५२ रनमा रन आउट भए। ३५ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका हुन्। सन्दीप जोरा चार रनमा अविजित रहँदा आशुतोष धिरौया एक, अर्जुन साउद १५, टम मुर्स १० र उन्मुक्त चन्द शून्य रनमा पभिलियन फर्किए
चितवनका रिजन ढकालले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। कुशल मल्ल र रञ्जित कुमारको नाममा समान एक विकेट रह्यो।









