दीपेन्द्रको तुफानी ब्याटिङसँगै लुम्बिनीलाई चुनौतीपूर्ण लक्ष्य
-1733202742.jpeg&w=3840&q=75)
काठमाडौं। इङ्लिस ब्याटर सैफ जैबको सानदार र कप्तान दीपेन्द्रसिंह ऐरीको तुफानी ब्याटिङसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सलाई १८८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८७ रन बनाएको हो।
यो एनपिएलमै बनेको तेस्रो सबैभन्दा धेरै रन हो। यसअघि विराटनगर किङ्सले लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछ्याउने क्रममा १९२ रन बनाएको थियो।
ओपनरद्वय सैफ र विनोद भण्डारीले सुदूरपश्चिमलाई राम्रो सुरुआत दिलाएका थिए। उनीहरूबीच पहिलो विकेटका लागि ४९ रनको साझेदारी भयो। १३ बलमा दुई चौकासहित १७ रन बनाएर खेलिरहेका विनोद आउट भए पनि सैफले रनको गति भने बढाउँदै लगे। उनले तेस्रो नम्बरमा आएका ब्रान्डन म्याकमुलनसँग ५७ रनको अर्को साझेदारी गरे।
ब्रान्डन २३ रनमा आउट भए। त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरीसँग ५३ रनको साझेदारी गर्दै उनले आफ्नो खातमा ९० र सुदूरपश्चिमको स्कोर बोर्डमा १७.४ ओभरमा ३-१५९ रन पुर्याए। ६१ बलमा ६ चौका र पाँच छक्का प्रहार गरेका उनलाई रोमन साइमन्ड्सले उन्मुक्त चन्दबाट क्याच आउट गराए।
उनले नै आसिफ शेखलाई शून्य रनमा आउट बनाएका थिए। १९ बलमा चार चौका र दुई छक्कासहित ३९ रन प्रहार दीपेन्द्र अविजित रहे। स्कट कुग्गेलिजन पनि ११ रनमा अविजित रहे।
लुम्बिनीका रोमनले सर्वाधिक दुई विकेट लिए। रोहितकुमार पौडेल र विवेक यादवको नाममा समान एक विकेट रह्यो।









