शीर्ष स्थानको लिभरपुलसँग अंक घटाउँदै चेल्सी
आइतबार, १६ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। कोल पाल्मरको उत्कृष्ट प्रदर्शनसँगै चेल्सी इङ्लिस प्रिमियर लिगको तालिकामा शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ६ मा झारेको छ।
स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा घरेलु टोली चेल्सीले भिल्लालाई ३–० ले पराजित गरेको हो। योसँगै चेल्सीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको हो।
१२ खेलबाट लिभरपुलले ३१ र एक खेल बढी खेलेको चेल्सीले २५ अंक पुर्याएका छन्। भिल्ला १९ अंकसहित १२औं स्थानमा छ।चेल्सीको जितमा पाल्मरले एक गोलका साथै एक असिस्ट गरे।
सातौं मिनेटमै निकोलस ज्याक्सनले घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ३६औं मिनेटमा पाल्मरको पासमा एन्जो फर्नान्डेजले अर्को गोल थपे। नोनी मडुकेको पासमा ८३औं मिनेटमा पाल्मरले नै गोल गर्दै चेल्सीको सानदार जित सुनिश्चित गरे।








