आयोजकलाई हराउँदै दमक अन्तिम चारमा

माङसेबुङ। दमक भाङबारी स्पोर्टिङ युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं संस्करणको आत्मानन्द गोल्ड कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक (युथ अफ माङसेबुङ) इलाममाथि ४–१ को सानदार जित निकाल्दै राष्ट्रिय खेलाडी र ए डिभिजन क्लबका खेलाडीहरूको वर्चस्व रहेको टिम दमक भाङबारी सेमिफाइनलमा प्रवेश गरेको हो।
दमकको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले गोल गरे। आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए।
खेलको पहिलो हाफको १२औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो। तर, खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए।
त्यसपछि खेलको अन्त्यतिर दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो। खेलको इन्जुरी समयमा रोहन भुजेल र खमिर गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै दमकलाई ४–१ को जित दिलाए।
खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए। उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे। मंगलबार दुधे यूथ क्लब झापा र चुलाचुली स्पोर्टिङ क्लब झापाबीच हुनेछ।








