इङ्ल्यान्डको जर्सीमा अझै खेल्न चाहन्छन् केन
मंगलबार, ०४ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को विश्वकप आफ्नो अन्तिम प्रतियोगिता नहुने बताएका छन् ।
आइतबार वेम्बली स्टेडियममा घरेलु टोलीले आयरल्यान्डलाई ५–० ले पराजित गरेसँगै ३१ वर्षीय केनको भविष्यबारे प्रश्न उठिरहेको छ। १०३ खेलमा ६९ गोल गरेका बायर्न म्युनिखका स्ट्राइकरलाई गत बिहीबार ग्रीसविरुद्ध ३–० को जित निकाल्दा पनि टोलीमा समावेश गरिएको थिएन।
पूर्वयुवा टोली रिजवे रोभर्सको पूर्वी लन्डनस्थित घरमा सोमबार केनले मूर्ति र भित्तेचित्र अनावरण गरेका थिए। ब्रिटिस प्रेस एशोसिएसनले उनलाई सन् २०२६ को विश्वकप तपाईंको अन्तिम हो या होइन भनेर सोधेको थियो । जवाफमा उनले भने, ‘मलाई त्यस्तो लाग्दैन। ३० वर्ष पुग्दैमा करियर समाप्त हुन्दैन।’
सन् २०२६ को विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुनेछ।








