एनपिएलका आठ टोलीले यु–१९ टोलीलाई १० लाख रुपैयाँ दिने
-1731593189.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) का आठ फ्रेन्चाइजीले पहिलोपल्ट यु–१९ विश्वकपमा स्थान बनाएको नेपाली महिला टोलीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिने भएको छ। आठ टोलीले १० लाख रुपैयाँ दिने घोषणा गरेका हुन्।
संयुक्त अरब इमिरेट्स (युएई)को अजमानमा बुधबार भएको अन्तिम खेलमा घरेलु टोलीलाई आठ विकेटले पराजित गर्दै नेपालले ऐतिहासिक उपलब्धी चुमेको थियो।
बिहीबार मात्रै नेपाल क्रिकेट संघ (क्यान)ले टोलीका खेलाडीलाई जनही दुई लाख ५० हजार दिने घोषणा गरेको थियो। अफिसियललाई भने जनही एक लाख ५० हजार नगद पुरस्कारबाट सम्मान गर्ने निर्णय गरिएको छ।
नेपालले छनोटमा ६ खेलबाट १० अंक जोड्यो। युएईले पनि समान खेलबाट समान अंक जोडे पनि नेपाल नेट रनरेटमा अगाडि रहँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो। नेपालले ३.९३५ नेट रनरेट बनायो।
यस्तै, नेपाललाई पहिलो खेलमा १३ रनले हराएको युएई भने ३.७४० नेट रनरेटमा समेटियो। नेपाली यु–१९ राष्ट्रिय महिला क्रिकेट टोलीले आगामी जनवरी १८ देखि फ्रेबुअरी २ सम्म मलेसियामा हुने विश्वकपमा अस्ट्रेलिया र बंगलादेशजस्ता ठूला राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ। नेपाल रहेको समूह ‘डी’ मा यी दुई टोलीबाहेक स्कटल्यान्ड पनि छ।
विश्वकपभन्दा अगाडि नेपालले डिसेम्बर १५ देखि १८ सम्म मलेसियामा नै आयोजना हुने यु–१९ महिला एसिया कप खेल्ने छ। नेपाल रहेको समूहमा भारत र पाकिस्तान छन्।









