विवाद सँगसँगै उपाधि रक्षामा अगाडि बढेको बंगलादेश

काठमाडौं। बंगलादेश सफलता र विवाद सँगसँगै साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि रक्षामा अगाडि बढेको छ।
वेस्ट ह्यामका पूर्वमिडफिल्डर पिटर बटलरको प्रशिक्षणमा रहेको बंगलादेशले पाकिस्तानसँग १–१ को निराशाजनक बराबरी खेल्दै साफ च्याम्पियनसिप सुरु गरेको थियो। त्यसपछि मैदान बाहिर विवाद सिर्जना हुन थालेको हो। मारिया मान्डा, मसुरा परभिण र सञ्जिदा अख्तरजस्ता सिनियर खेलाडीलाई बेन्चमा राखेर युवा खेलाडीलाई मैदानमा उतार्ने प्रशिक्षकको निर्णयले सबैलाई चकित पारेको थियो ।
मारियाको अनुपस्थिति विशेष गरी महसुस गरिएको थियो। सेन्ट्रल मिडफिल्डर लामो समयदेखि टोलीका एक प्रमुख खेलाडी हुन्। जस्तोसुकै परिस्थितिमा पनि स्ट्राइकरसम्म बल पुर्याउन सक्ने मारियाको कलाले बंगलादेशलाई धेरै खेलमा उद्दार गरेको थियो। जसमा दुई वर्षअघि काठमाडौंमा उपाधि जित्दा एक असिस्ट पनि हो।
पछि मोनिका चक्माको स्थानमा मारियालाई भित्र्याइएको थियो। त्यतिखेर बंगलादेशले बराबरी गोलको खोजी गरेको थियो। मोनिकाले अनुभवी खेलाडीहरूलाई बेन्चमा राख्ने प्रशिक्षकको निर्णयबारे क्यामेरासामु केही भनिन्। यद्यपि, उनले बंगलादेशको मिडियासामु भने घुमाउरो पारामा असन्तुष्टि पोखेकी थिइन्।
मोनिकाले भनेकी थिइन्, ‘प्रशिक्षक यो नतिजा र प्रदर्शनबाट खुसी हुन सक्छन्। तर, हामीले विगतका भेटमा (उमेर स्तर र सिनियरमा) ५-०, ६-०, ७-० ले पराजित गरेका थियौं। अहिले बराबरी खेल्न परेको छ।’ तर, पिटरले भने पाकिस्तानी फुटबलको स्तर बढेको भन्दै बराबरीको नतिजाबाटै आफू खुसी रहेको भन्दै आफ्नो बचावट गरे।
तर, अहिले यो टोलीले आश्चर्यजनक प्रदर्शन गर्दै आएको छ, जसको पछिल्लो उदाहरण हो दशरथ रंगशालामा सेमिफाइनलमा भुटानलाई ७–१ ले हराउनु। पाँच पटकको च्याम्पियन भारतलाई ३–१ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रूपमा बंगलादेश अन्तिम चारमा स्थान पक्का गरेको थियो।
त्यसपछि पाकिस्तानविरुद्धको खेलमा उत्पन्न भएको विवाद अन्त्य हुने अपेक्षा गरिएको थियो। तर, कप्तान सविना खातुनले फेसबुकमा प्रशिक्षकमाथि कटाक्ष गर्दै पोस्ट गरेसँगै (अहिले उक्त पोस्ट माफी माग्दै हटाएकी छन्) थप विवाद सिर्जना भएको छ। पूर्वप्रशिक्षक गोलम रब्बानी छोटनले पनि सेमिफाइनलमा बटलरलाई थप चिढ्याउँदै मिडियामा आफ्नो विचार व्यक्त गरेका छन्।
ज्वरोका कारण प्रशिक्षणमा सहभागी नभएपछि सविनाले भुटानविरुद्धको सेमिफाइनल खेल्ने या नखेल्ने भन्नेमा अनिश्चितता थियो। तर, उनले सुरुआती ११ बाटै सुरु गरिन् र दुई गोल पनि गरिन्। तोहुरा खातुनले ह्याट्रिक गर्दै बंगलादेशलाई ७–१ को फराकिलो जित दिलाइन्। दुई वर्ष पहिला यही रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० ले हराएको थियो।
बंगलादेशका प्रशिक्षकले टोलीको प्रयास र आठ महिनाअघि पदभार ग्रहण गरेदेखि आफूले गरेको कामको आफैंले प्रशंसा गरे। ‘हामीले विगत ६–७ महिनादेखि निकै मेहनत गरेका छौं। तर, केही टिमलाई अस्थिर बनाउने कोसिस गरिरहेका छन्,’ बटलरले म्याचपछि भने। यो भनाइसँगै घरेलु टोली नेपालसँग बुधबार फाइनल खेल्नुअघिसम्म टोलीमा अझै विवाद कायम रहने स्पष्ट देखिएको छ।








