विर्तामोड र दमक सेमिफाइनलमा

समाल्बुङ। पूर्वेली भेट्रान्स विर्तामोड र दमक–लखनपुर भेट्रान्स इमलामको सूर्योदय नगरपालिका–५ समाल्बुङमा जारी दोश्रो गोरख भेट्रान्सको सेमिफाइनल प्रवेश गरेको छ।
सामसुङ मेमोरियल मैदानमा जारी प्रतियोगिता उद्धघाटन खेलमा पूर्वेलीले गत संस्करणको उपविजेता एमसीसी भेट्रान्स फिक्कललाई ४–२ गोल अन्तरले हराएको हो। खेलको सूरुवाती अग्रता फिक्कलले लिएको थियो। सुजन राईले पहिलो हाफको १९औं मिनेटमा गोल गरे। दोश्रो हाफको सुरुवाती मिनेटमा सन्तोष राईले खेल बराबरी गरे। चौथो मिनेटमा प्रविन विश्वकर्माले फिक्कललाई अग्रता दिलाए।
१० औं मिनेट कर्ण लिम्बुले फ्रिकिक मार्फत खेल बराबरीमा ल्याए। बराबरी भएको एक मिनेट नवित्दै सन्तोष राईले व्यक्तिगत दोश्रो गर्दै विर्तामोडलाई अग्रता दिलाए। दोश्रो हाफको १६ औं मिनेटमा राजकुमार विकले गोल गरेपछि ४–२ गोल अन्तरको जितका साथ विर्तामोडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको म्यान अफ दि म्याच विर्तामोडका सन्तोष राई घोषित भए। दोश्रो खेलमा दमक-लखनपुरले पाहुना टोली दार्जिलिङको जिजे भेट्रान्सलाई ३–२ गोल अन्तरले हराएको हो। दमक-लखनपुरको तर्फबाट सुवास आङथुपोले २ र विकास राईले १ गोल गरे। दार्जिलिङका गौतम थापा र अर्जन राईले गोल गरे। खेलको म्यान अफ दि म्याच सुवास आङथुपो घोषित भए।
प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा बरमियोक नाम्पिङ सिक्किम र आयोजक गोरख भेट्रान्स तथा चौथो क्वाटरफाइनल खेलमा युएफसी भेट्रान्स बुङकुलुङ भारत र फेमेगुरु भेट्रान्स सन्दकपुर बिच प्रतिस्पर्धा हुनेछ।








