भारत एक खेलअगाबै साफको सेमिफाइनलमा
आइतबार, ०४ कार्तिक २०८१खेलपाटी संवाददाता

काठमाडौं। पाँचपल्टको विजेता भारत एक खेलअगाबै साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा साबिक विजेता बंगलादेशले पाकिस्तानसँग १–१ बराबरी खेलेपछि भारतले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
यो समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५–२ ले हराएको थियो। समूहचरणको अन्तिम खेल बंगलादेशसँग खेल्न बाँकी रहेको भारत तीन अंकसहित शीर्ष स्थानमा छ। बंगलादेश र पाकिस्तानको समान एक अंक छ। बुधबार भारत र बंगलादेशबीच हुने खेलले यो समूहबाट अन्तिम चारमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ।








