नेयमार सोमबार हिलालमा उपलब्ध हुने

काठमाडौं। चोटका कारण एक वर्ष मैदानबाहिर रहेका नेयमार सोमबार साउदी अरबको क्लब अल–हिलालमा उपलब्ध हुने भएका छन्।
मार्केटिङ कम्पनी एनआर स्पोर्ट्सले शनिबार एक विज्ञप्ति जारी गर्दै ब्राजिलको फुटबलप्रतिको प्रेम र अर्को विश्वकपमा खेल्ने आशासँगै उनलाई पुनः एक्सनमा ल्याएको बताएको छ। हिलालले एएफसी च्याम्पियन्स लिग एलिटअन्तर्गत सोमबार संयुक्त अरब इमिरेट्स (युएई) को अल–ऐनविरुद्ध खेल्नेछ।
उक्त खेललाई संकेत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘उनको पुनरागमनमा कुनै अन्तिम निर्णय नभए पनि १०औं नम्बरका खेलाडीले सोमबार खेल्न पाउनेछन्।’
सन् २०२३ को अगस्टमा नेयमार रियाद टोलीमा अनुबन्धित भएका थिए। तर, गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा बायाँ घुँडाको मेनिस्कस र एन्टेरियर क्रुसिएट लिगामेन्ट फुटेको थियो। शल्यक्रिया गर्नुअघि उनले हिलालबाट पाँच खेल मात्र खेलेका थिए।
शनिबार सामाजिक सञ्जालमा प्रकाशित एक पोस्टमा ३२ वर्षीय नेयमारले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा बोलेको र फर्कने प्रयास गरेको फुटेज राखेका थिए। ‘हरेक पटक जब म घाइते हुन्छु, म फर्कन्छु। तर, म आधा बाटोमै फर्कंदिनँ,’ नेयमारले एक भिडियोमा भनेका छन्।
नेयमार जुलाईमा प्रशिक्षणमा फर्केका थिए, तर सेप्टेम्बरमा उनको क्लबका प्रशिक्षक जर्ज जेससले तत्काल पुनरागमनको अपेक्षा नरहेको प्रतिकृया दिएका थिए। पोर्चुगलका प्रशिक्षकले सोमबार नेयमारले खेल्ने निश्चित गरेका छैनन्।
आगामी अगस्टमा दुई वर्षे सम्झौता सकिँदै गरेका नेयमारले एएफसी च्याम्पियन्स लिग एलिटका खेलहरू खेल्न पाउनेछन्। किनभने महाद्वीपीय प्रतियोगितामा विदेशी खेलाडीहरूको संख्यामा कुनै प्रतिबन्ध छैन। यदि नेयमार फिट भएमा नोभेम्बरमा हुने दक्षिण अमेरिकी विश्वकप छनोटको दुई चरणमा ब्राजिलको राष्ट्रिय टोलीमा पनि पुनरागमन गर्न सक्नेछन्।








