रोहितबाहेक अन्य खेलाडी नचल्दा नेपाल पराजित
आइतबार, १३ आश्विन २०८१खेलपाटी संवाददाता

काठमाडौं। कप्तान रोहितकुमार पौडेलबाहेक अन्य खेलाडी चल्न नसक्दा नेपाल क्यानडा ट्वान्टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमै पराजित भएको छ।
शनिबार राति भएको खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भएको हो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।
कप्तान रोहितले सर्वाधिक ३७ रन बनाए। ३९ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। कुशल मल्ल १२, देव खनाल ११ र सन्दीप लामिछाने १० रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
क्यानडाका कलिम सानाले सर्वाधिक चार विकेट लिए। साद बिन जाफरले तीन र प्रविण कुमार र अखिल कुमारले समान एक विकेट लिए।









