भ्यानकुभरको पाँचौं हार
-1722051679.jpg&w=3840&q=75)
काठमाडौं। भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी-२० क्यानाडा क्रिकेट लिगमा पराजित भएको छ।
आइतबार बिहान सम्पन्न खेलमा टोरन्टो नेसनलसँग भ्यानकुभर नाइट्स १९ रनले पराजित भएको हो। भ्यानकुभर नाइट्सको पाँचौं हार हो।
भ्यानकुभर नाइट्स यसअघि टोरेन्टोसँग आठ र ब्राम्पन वुल्भ्ससँग ६ विकेटले पराजित भएको थियो। बंगला टाइगर्ससँग २२ र मन्ट्रियलसँग १० रनले पराजित भएको थियो। सर्रे जगुआरसँगको खेल भे रद्द भएको थियो।
टोरेन्टोको भने यो तेस्रो जित हो। ६ खेलबाट सात अंक जोडेको टोरेन्टो अंक तालिकामा दोस्रो स्थानमा छ।
टोरेन्टोले दिएको १२८ रनको लक्ष्य पछ्याएको भ्यानकुभर नाइट्स १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमा समेटियो।
भ्यानकुभर नाइट्सका रिची बेरिंगटनले अर्धशतकीय इनिङ्स खेलेका थिए। ४४ बल खेलेका उनले तीन चौका र तीन छक्कासहित ५२ रन प्रहार गरे। रिजा हेन्ड्रिक्स १७, दिपेन्द्रसिंह ऐरी १३ र उस्मान ख्वाज १० रनमा आउट भए।
टोरेन्टोका रोमारियो शेफर्डले सर्वाधिक तीन विकेट लिए। मोहम्मद नवाजले दुई विकेट लिँदा साद बिन जफर, जुनैद सिद्दिकी र जेसन बेहरेन्डोर्फले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टोरेन्टोले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
टोरेन्टोका रोस्टन चेसले सर्वाधिक २३ रन बनाए। २७ बल खेलेका उनले ३ चौका प्रहार गरे। जतिन्द्रपाल मथारु र एन्ड्रिज गौस १९/१९ रनमा आउट हुँदा मोहम्मद नवाज १४, निकोलस किर्टनले १३ रन बनाए।
भ्यानकुभर नाइट्सका मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिँदा ऋषिभ जोशी र हर्ष ठाकरको नाममा समान दुई विकेट रह्यो।









