रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो हार

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलले ग्लोबल ट्वान्टी-० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।
मंगलबार राति सम्पन्न खेलमा बंगला टाइगर्स मिसिसाउगासँग टोरेन्टो दुई रनले पराजित भएको हो। उक्त खेलमा रोहित भने प्लेइङ ११ मा परेका थिएनन्।
जितसँगै बंगलाले तीन खेलबाट चार अंक जोडेको छ। एक खेल बढी खेलेको टोरन्टोकोको पनि समान चार अंक रहेको छ। बंगलाले दिएको १६९ रनको लक्ष्य पछ्याएको टोरेन्टोले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन मात्रै बनाउन सक्यो।
टोरेन्टोका निकोलस किर्टनले सर्वाधिक ७४ रन बनाए। ५४ बल खेलेका उनले सात चौका र चार छक्का प्रहार गरे। कप्तान कोलिन मुनरो १७, रोस्टन चेस १६ रनमा आउट हुँदा रोमारियो शेफर्ड २४ रनमा अविजित रहे।
बंगलाका अली खानले सर्वाधिक दुई विकेट लिए। डेभिस विसे, शिरिफुल इस्लाम, शकिब अल हसन र इफ्तिखार अहमदले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बंगलाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६८ रन बनाएको थियो। बंगलाका डेभिड विसेले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। १७ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे।
रहमानउल्लाह गुरबाज र कप्तान शकिब अल हसनले समान २४ रन बनाउँदा मोहम्मद वसिम २७, हजरतुल्लाह जाजई १९ र परगट सिंह १८ रनमा आउट भए।
टोरेन्टोका रोमारियो शेफर्ड र साद बिन जफरले समान दुई विकेट लिए। मोहम्मद रोहिद, मोहम्मद नवाज र जुनैद सिद्दिकीको नाममा एक/एक विकेट रह्यो।









