मेक्सिकन टोली सम्हाल्न तेस्रोपल्ट फर्किए अगुइरे
-1721698642.webp&w=3840&q=75)
काठमाडौं। मेक्सिको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा जेभियर अगुइरे तेस्रोपल्ट नियुक्त भएका छन्। ६५ वर्षीय अगुइरेले सन् २००२ र २०१० को विश्वकपमा मेक्सिकोलाई अन्तिम १६ मा पुर्याएका थिए।
सन् १९९४ देखि २०१८ सम्म विश्वकपको हरेक संस्करणमा मेक्सिको अन्तिम १६ मा पुगेको थियो। तर, सन् २०२२ मा समूहचरणबाटै बाहिरियो। राष्ट्रिय टोलीका निर्देशक डुइलियो डाभिनोले भने, ‘अगुइरे निस्सन्देह मेक्सिकन प्रशिक्षक हुन् र धेरै अनुभव पनि छ।’
डाभिनोले सन् २०३० को विश्वकपका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने योजनाअन्तर्गत राफेल मार्केज अगुइरे दुई वर्षका लागि अगुइरेको सहायक प्रशिक्षक हुने बताएका छन्। मार्केजले मेक्सिकोबाट पाँच पटक विश्वकप खेलेका छन्। उनी क्याटलान क्लब बार्सिलोनाको रिजर्भ टोलीका प्रशिक्षक पनि हुन्।
कोपा अमेरिका फुटबलको समूहचरणबाटै बाहिरिएपछि मेक्सिकोले मुख्य प्रशिक्षक जाइम लोजानोलाई यसै साता बर्खास्त गरेको थियो। लोजानोलाई सन् २०२६ को विश्वकपसम्म साहयक प्रशिक्षकको रूपमा काम गर्ने मौका दिइएको थियो। तर, ४५ वर्षीय लोजानोले उक्त प्रस्ताव अस्वीकार गरे।
मेक्सिकोले सन् २०२६ को विश्वकप क्यानडा र अमेरिकासँग मिलेर आयोजना गर्नेछ। लोजानोले मेक्सिकोलाई सन् २०२३ को गोल्ड कपको उपाधि जिताएका थिए भने यसै वर्षको सुरुमा कन्काकाफ नेसन्स लिगको फाइनलमा पुर्याएका थिए।
मेक्सिकोका पूर्वअन्तर्राष्ट्रिय खेलाडीले आफ्नो कार्यकालमा १० जित, चार बराबरी र सात हार बेहोरेका थिए। लोजानोलाई गत वर्ष डिएगो कोक्काको स्थानमा नियुक्त गरिएको थियो।
अगुइरे एक मात्र मेक्सिकन हुन्, जसले युरोपमा कुलीनस्तरमा प्रशिक्षण दिएका छन्। उनले स्पेनमा एट्लेटिको मड्रिड र मालोर्कासहित ६ टोलीको नेतृत्व गरेका छन्। उनले गत सिजन मालोर्कालाई कोपा डेल रेको फाइनलमा पुर्याएका थिए।
उनले जापान र इजिप्टको राष्ट्रिय टोलीलाई पनि प्रशिक्षण दिइसकेका छन्। ४५ वर्षीय मार्केजले पछिल्लो पटक सन् २०१८ मा रसियामा भएको विश्वकप खेलेका थिए।
खेलाडीको रूपमा मार्केजले बार्सिलोनाबाट चार लिग उपाधि र दुई च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनले पछिल्लो दुई वर्षदेखि बार्सिलोनाको रिजर्भ टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। मेक्सिकोले सेप्टेम्बरमा अमेरिकामा न्युजिल्यान्ड र क्यानडाविरुद्धको मैत्रीपूर्ण खेल खेल्नेछ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)