अर्जेन्टिनाका खेलाडीले रंगभेदी नारा लगाएको विषयमा छानबिन सुरु

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडीले रंगभेदी नारा लगाएको विषयमा छानबिन सुरु गरेको छ। कोपा अमेरिकाको उपाधि जितेपछि उनीहरूले फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पेलगायतलाई लक्षित गरी रंगभेदी र समलिंगी नारा लगाएका थिए।
फिफाका प्रवक्ताले भने, 'फिफालाई सोसल मिडियामा भाइरल भएको भिडियोबारे जानकारी छ र घटनाको अनुसन्धान भइरहेको छ। फिफा खेलाडी, समर्थक र अफिसियललगायत कसैले पनि कुनै पनि प्रकारको भेदभावको कडा शब्दमा भर्त्सना गर्दछ।'
चेल्सी तथा अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डिजले आइतबार मियामीमा कोलम्बियाविरुद्ध कोपा जितपछि टिम बसबाट सामाजिक सञ्जालमा लाइभ भिडियो पोस्ट गरेका थिए। २३ वर्षीय फर्नान्डिजसहित केही खेलाडीले सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराएको भन्दै गीत गाएका थिए।
यो गीतमा एमबाप्पेलगायत केही खेलाडीलाई लक्षित गरिएको छ र यसमा रंगभेदी र होमोफोबिक अपमान पनि समावेश गरिएको छ। चेल्सीले यसअघि फर्नान्डिजविरुद्ध आन्तरिक अनुशासनको प्रक्रिया सुरु गरेको घोषणा गरेको थियो।
सन् २०२३ मा बेनफिकाबाट चेल्सीसँग १० करोड ५० लाख पाउन्ड (१३ करोड ६८ लाख अमेरिकी डलर) को कीर्तिमानी शुल्कमा चेल्सीमा सामेल भएका फर्नान्डिजले माफी माग्दै भनेका छन्, 'गीतमा अत्यधिक अपमानजनक भाषा समावेश गरिएको छ र यी शब्दहरूको लागि कुनै बहाना छैन। म सबै प्रकारका भेदभावविरुद्धमा उभिन्छु र कोपा अमेरिका उत्सवको उल्लासमा फसेकोमा क्षमा प्रार्थी छु।'






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)