स्कालोनी पेरुविरुद्धको खेलमा ‘टचलाइन’मा उभिन नपाउने

काठमाडौं। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कोपा अमेरिकाको समूहचरणको अन्तिम खेलमा पेरुविरुद्ध ‘टचलाइन’मा उभिन नपाउने भएका छन्।
अर्जेन्टिनाले क्यानडालाई २–० र चिलीलाई १–० ले पराजित गर्दा स्कालोनीले टोलीलाई सही समयमा मैदान नउतारेपछि पेरुविरुद्धको खेलमा उनलाई ‘टचलाइन’ सम्हाल्न रोकिएको हो। स्कालोनी म्याचपछिको पत्रकार सम्मेलनमा पनि सहभागी हुन पाउने छैनन्।
कोपा अमेरिकाको नियमअनुसार खेलाडीहरू ब्रेकपछि सही समयमा मैदानमा उपस्थित हुनुपर्छ। पहिलो पटक नियम उल्लंघन गरेपछि चेतावनी दिइनेछ। यो प्रतिबन्ध दोस्रो उल्लंघनपछि लागू गरिएको हो।
क्यानडाका खेलाडीले जुन २० मा भएको खेलको दोस्रो हाफमा अर्जेन्टिनी टोली ढिलो मैदान फर्किएको भन्दै सार्वजनिक रुपमा गुनासो गरेका थिए।
चिलीका प्रशिक्षक रिकार्डो गारेकालाई पनि सोही कारण एक खेलमा टचलाइनमा उभिन रोकिएको थियो। शनिबार ओर्लान्डोमा चिलीले क्यानडाको सामना गर्नेछ। डिफेन्डिङ कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको छ।
अर्जेन्टिनाका सहायक वाल्टर स्यामुएलले शुक्रबारको पत्रकार सम्मेलनमा स्कालोनीबारे भने, ‘उनी परिस्थितिप्रति अलि फरक थिए। हामी आफूलाई सही कोचिङ स्टाफ ठान्छौं।’ अर्जेन्टिनालाई समूह ‘ए’ को पहिलो स्थानका लागि पेरुसँग बराबरी खेल्नु आवश्यक छ।






-1768572164221.png&w=3840&q=75)





-1768550031655.png&w=3840&q=75)